मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई कारबाही

pic-33
लोकपाटी न्यूज
5 Shares

राजेन्द्र बिक/ बाजुरा, ५ माघ। बाजुराका स्थानिय सडकखण्डमा सञ्चालन हुने सवारी साधनले जिल्ला प्रशासनले तोकिदिएको भन्दा दोब्बर भाडा अशुलेको पाइएपछि कारबाही प्रक्रिया थालेको छ। जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले जिल्लामा तोकिएको भाडादर कार्यान्वयन नगर्ने जीप व्यवसायीलाई कारबाही थालेको हो।

मनोमानी तरिकाले भाडा उठाउने गरेको नागरिकको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाजुराले भाडादर कायम गरेको थियो। सबै स्थानिय सडक खण्डको भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानित भाडा असुल्ने सवारी साधन माथि कडा निगरानी राखिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायिलाई स्पष्टीकरणसहित बढि लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए। यात्रुको चापको फाईदा उठाएर तोकिए भन्दा बढी भाडा उठाएपछि ठाउँ-ठाउँमा भएका ईलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्दा तोकिए भन्दा बढी भाडा लिएकालाइ फिर्ता गराउन थालिएको हो। भाडादर पूर्ण रुपमा कार्यान्वयनका लागि ईलाका प्रहरीहरुबाट विभिन्न स्थानहरुमा कडाइका साथ चेकजाँच भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाजुरा जिल्ला भित्रका सडकमा चल्ने याुत्रवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले पुस २० गते सार्वजनिक गरेको भाडादर कार्यान्वयन नगर्ने सवारी धनिलाई प्रहरीको सक्रियतामा दोब्बर लिएको भाडा फिर्ता गराउने गरिएको छ। हिजो मात्रै जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पिलुचौरबाट धुलाचौर जांदै गरेको सवारी साधनले ७ जना याुत्रबाट प्रति व्यक्ति ४ सयका दरले भाडा लिएको पाईपछि उक्त सवारी साधनलाइ नियन्त्रणमा लिई यात्रुलाई रकम फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख थापाले बताए। धुलाचौर जादै गरेको सुपप्र ०१००१ ज ११६४ नम्बरको सवारी साधनले तोकिएको भडा भन्दा बढी लिएको २६८ रुपैयाँ यात्रुलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ। सवारी साधनहरु कायम गरिएको भाडादर कार्यान्वयन नगरि यात्रुबाट मनोमानित भाडा असुल्ने गरेपछि प्रहरीले थप कडाई गरेको छ।

भाडादर कार्यान्वयन भएनभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने प्रहरी नायब उपरिक्षक थापाले बताए। जिल्ला प्रहरी कार्यालयले प्रत्येक ईलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरि पूर्ण रुपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ। हालसम्म जिल्लामा दुई दर्जन जीव व्यवसायिलाई यस्तो कारवाही गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। यसबाट स्थानिय नागरिकहरुलाई दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न र आवत जावतमा सजिलो भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्