बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदै छन्। आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन्।
पुस २७ गते प्रदेश सभाका ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहरू सहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन्।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ।