विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छु : प्रम प्रचण्ड

PM_PRACHANDA
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन्। आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ साधारण सभामा उनले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्त्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्त्वपूर्ण काम भएका थिए। यस पटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’

उनले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘देशलाई केही दिनै पर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिन्छु।’

उनले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरे। उनले भने, ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु। यो व्यवसाय संवेदनशील छ। यसलाई व्यवस्थित र मर्यादित बनाउनै पर्छ। यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ। मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइहरूको साथ हुनेछ।’

कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसंगतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्