नेपालमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन दिँदैनौं : केपी ओली

KP_Oli
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलित, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन्। एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले छिमेकीहरूका लागि असल छिमेकी हुन चाहेको जिकिर गरे।

ओलीले छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने बताए। आफ्नो पार्टीले पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको उनको भनाइ छ। उनले नयाँ सरकारले सन्तुलित, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताए। उनले भने, ‘हामी हाम्रा छिमेकीहरूका निम्ति असल छिमेकी हुन चाहन्छौं। र, उनीहरूको कुभलो गर्दैनौं। हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं।’

अध्यक्ष ओलीले राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन नदिइने उल्लेख गरे। ‘हामी कसैको पनि मिलिटेरिली बेसिस, कुनै पनि प्रकारका सैनिक गतिविधिहरू वा त्यस्ता अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौं। त्यो कसैको पनि राख्यो भने हाम्रा निम्ति त्यो अहितकर हुन्छ,’ उनले भने, ‘हाम्रा सार्वभौमसत्ताका निम्ति त्यो सार्वभौमसत्तामाथिको अतिक्रमण हुन्छ। र, हामी कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता , हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रता यस कुरामा कुनै कम्पमाईज गर्दैनौं।’