काँग्रेसका यादवले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

mukta
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा काँग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी रहेका छन्।

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेकी छन्। उनको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १ बजे गर्ने गरी संघीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो। सूचनाअनुसार प्रतिनिधि सभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने समय आज माघ ६ गते दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको थियो।

आजै निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ। माघ ७ गते प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, उम्मेदवारीको सूचनामाथिको संक्षिप्त छलफल हुने तथा दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्