काठमाडौं। संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदको चयनका लागि आज शनिबार निर्वाचन हुने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएको हो।
उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना मगरले उमेदवारी दिएकी छन्। उनलाई नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ।
रास्वपाकी सोविता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनसहित रानाले शुक्रबार उम्मेदवारी दिएकी हुन्। रास्वपा समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट उनी सांसद बनेकी हुन्।