पोखरा। जातीय दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन्। उनीमाथि आफ्नै वडा सदस्यले जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोपसहित उजुरी दिएकी थिइन्।
कास्की जिल्ला अदालतले अधिकारीलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो। उनी शुक्रबार नै धरौटी बुझाएर रिहा भए। न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो। जाहेरीवालाले थुनामा राखेर कारबाही प्रक्रिया चलाउन माग गरेको थियो।
वडा सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै गत पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन्।
प्रहरीले पुस २६ गते अधिकारीलाई पक्राउ गरेको थियो। त्यसपछि जिल्ला अदालत कास्कीले पहिलो पटक ५ दिन र दोस्रो पटक १० दिन गरी २ पटक म्याद थपेर अनुसन्धान गरेको थियो।