फ्रान्स पठाइँदै दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’

yeti_airlines
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ। फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिए। ‘ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता जहाज निर्माता कम्पनी फ्रान्स पठाउँदैछौं। दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि यसले सहयोग पुग्ने विश्वास गरेका छौं,’ उनले भने।

उनले विमान निर्माता कम्पनीले आफ्नै किसिमले डाटा विश्लेषण गर्ने भएकाले फ्रान्स पठाउन लागिएको बताए। दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको उनको भनाइ छ। ‘ब्ल्याक बक्सबाट तथ्यांक निकाल्ने मात्रै कुरा हुँदैन,’ उनले भने, ‘सामान्य अनुसन्धान र दुर्घटनापछि गरिने अनुसन्धान फरक पर्ने भएकाले प्राविधिक विश्लेषणका लागि फ्रान्स पठाउन लागिएको हो।’

उनका अनुसार ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन्। आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात संकलन तथा विज्ञसँग छलफल गरिसकेको छ।

विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको नौ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ। सहसचिव लामिछानेले आयोगको सुपरिवेक्षणमा रहेर उक्त टोलीले आवश्यक अध्ययन गरेको र आयोगसँग समन्वय गर्दै र आवश्यक परे फेरि नेपाल आउने गरी स्वदेश फर्किएको जानकारी दिए।

ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो। ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९-एएनसी (एटीआर-७२-२१२)विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोँचमा दुर्घटना भएको थियो। उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी एक जनाको खोजी जारी छ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार मृतक ७१ जनामध्ये निधन भएको र थप एक जनाको शव पहिचानका लागि डिएनए परीक्षण गर्न लागिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना जाँच आयोगले तीव्रताका साथ काम गरिरहेको बताए।

सरकारले विमान दुर्घटनाबारे जाँच गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथि) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा रहेका छन्। आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पद बहालीसँगै दुर्घटनाबारे चासो व्यक्त गर्दै जाँच आयोगलाई छिटो र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए। उनले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सबै खाले सुधार गर्ने विश्वास व्यक्त गरेका थिए।

मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री किराँतीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकार र प्राविधिक टोलीसँग छलफल गरी हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई चुस्त र प्रभावकारी पार्न निर्देशन दिएका थिए। उनले दुर्घटना जाँच आयोगका पदाधिकारसँग पनि छलफल गरी कामलाई प्रभावकारी बनाउन आग्रह गरिसकेका छन्।

हवाई दुर्घटनाको इतिहास

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय चार वटा विमान दुर्घटना भएका छन्। यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ। मानवीय क्षतिको हिसाबले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो।

तुलनात्मकरूपमा सुरक्षित भनिने एटिआर सिरिजका विमान दुर्घटना पर्नु आफैँमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक संघका प्रतिनिधि एवं सिता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ।

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए। यस्तै सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो।

सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो। काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो।

यस्तै १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा हुँदा एक सय ५७ जनाले ज्यान गुमाएका थिए। सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए।

सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटना भए पनि मानवीय क्षति भने भएन। सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटकसहित छ जनाको मृत्यु भएको थियो। सन् २०१८ मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुई वटा हेलिकोप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो। यस्तै सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

सन् २०२२ को मे २७ मा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरको ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो। -रासस