राष्ट्रपति र उपराष्ट्रपतिले दिए सोनाम ल्होसारको शुभकामना

bidhya-bhandary-nanda-bahadur-pun pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्। सोनाम ल्होसारको अवसरका शुभकामना सन्देश दिँदै सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी हुन्।

राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेकी छन्। तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्। यस्तै,उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताएका छन्।

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गरेकी हुन्। “हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू नेपालको गौरव हुन्”, उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा भनेका छन्, “मान्यजनबाट टीका थाप्ने, आशीर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा पनि लिइने सोनाम ल्होछारले सम्पूर्ण नेपालीहरूका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु।”

काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभूषासहितको पहिचान भएको बताउँदै उनले तामाङ सेलो गीत, टुङ्गुना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्