काठमाडौं। नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दै आएको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको काँग्रेस राजनीतिक रुपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले नेतृत्वको आलोचना गरेका छन्।
काठमाडौंको बत्तीसपुतलीस्थित एक बैंक्वीटमा आइतबार भएको बैठकमा नेताहरूले त्यस्तो धारणा सुनाएका हुन्। काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मतमा समेत प्रश्न उठाएका छन्। बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले आफूहरूले छलफल गरेको बताए।
पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको उनले जानकारी दिए। काँग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने सो पक्षका नेताहरूले अडान लिएका छन्। नेता भण्डारीले भने, ‘काँग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्न सकेन ?, आम कार्यकर्ताले प्रश्न उठाइरहेका छन्।’
सांसद भण्डारीले काँग्रेसले आफ्नो इतिहास बिर्सिन नमिल्ने बताए। बैठकमा पार्टीले लिनुपर्ने आगामी रणनीति, राजनीतिक कार्यादेश तथा माघ १५ गते बस्न गइरहेको केन्द्रीय समितिको बैठकका एजेण्डा बारेमा समेत आन्तरिक छलफल भएको उनको भनाइ छ। बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा केही जिल्ला सभापतिहरूको समेत सहभागिता थियो।