काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गरेका छन्। आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन गरेका हुन्।
सो अवसरमा प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताए। उनले भने, ‘आजबाट सुरु भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व-२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’
नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर लगायतका मंगोल-चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ। आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ/संस्थाहरूले समेत ल्होछार पर्व धूमधामसँग मनाउँदै आएका छन् ।
‘तामाङ सभ्यता मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो। यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ। तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्त्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्त्व राख्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी पनि गरे। ‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषा भाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ उनले भने, ‘यहाँ बसोबास गर्ने सबै जाति जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन्। यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’
प्रधानमन्त्री प्रचण्डले अगाडि थपे, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन्। तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरूलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदै छन्। मानव सभ्यता मर्दैछ। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ। यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’