राष्ट्रपतिको निर्वाचन २५ फागुनमा

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ। आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ। आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि २५ फागुनमा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो।

आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार छलफलसमेत गरेको छ। प्रमुख आयुक्त दिनेश थपलिया प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचन’छलफल गर्न सिंहदरबार पुगेका थिए। ‘राष्ट्रपति निर्वाचन २५ फागुनमा गर्नेगरी आयोगले तयारी गरेको रहेछ, प्रधानमन्त्रीले सोही मितिमा निर्वाचन गर्ने गरी तयारी अघि बढाउन सुझाउनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले राजधानीसँग भन्यो।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ। सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुन्छन्।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले ढिलामा २५ फागुनभित्रै आयोगले राष्ट्रपति निर्वाचन गर्नेगरी काम गरिरहेको जानकारी दिए। ‘२५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी आयोगले काम गरिरहेको छ, पहिले राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुन्छ, त्यसपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्छौं,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने।

आयोगले राष्ट्रपति निर्वाचन सकिएपछि उपराष्ट्रपति पदको निर्वाचन गर्ने छ। संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक–फरक मितिमा गर्नुपर्ने उल्लेख छ। व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचन सम्पन्न भएको १५ दिनभित्र उपराष्ट्रपति निर्वाचन गर्नुपर्छ। आजको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्