रुकुम (पूर्व)। रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ। जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो। पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका-१ र सिस्ने गाउँपालिका-१ वडामा अहिले हिमपात भइरहेको छ।
विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो। लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो। हिमपात भएपछि चिसो निकै बढेको छ। चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए। जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ।