राजनीति गर्ने व्यक्तिको आचरणमा खोट लगाउने ठाउँ हुनुहुँदैन : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताएका छन्। पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित अनुशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

कतिपय राजनीतिक दललाई आफ्नो राजनीतिक मिसन पनि जानकारी नरहेको भन्दै अध्यक्ष ओलीले जनता, समाज र देशको समस्या पहिचान गरी त्यसको समाधानमा राजनीतिक दल तल्लीन रहन आवश्यक रहेको बताए। जनताको आवश्यकता पूरा गर्नु नै दलको काम भएको भन्दै उनले जनताको समस्या समाधानका लागि पहिले समस्याको पहिचान गर्न आवश्यक रहेको चर्चा गरे।

द्वन्द्वको घाउ पुर्न शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न आवश्यक भएको बताउँदै अध्यक्ष ओलीले समस्या समाधानमा दलका नेताहरू केन्द्रित भएमा समस्या समाधान हुने बताए। पद र स्वार्थका लागि राजनीति कोही कसैले गर्न नहुने उनले चर्चा गरे। विचारै नभएको, राजनीतिक मिसन नभएका दल चलाउनुको अर्थ नभएको पनि उनले चर्चा गरे।

पार्टीको मिसन जनताको समस्या समाधान गरी मुलुकलाई समृद्ध बनाउने रहेको चर्चा गर्दै अध्यक्ष ओलीले दक्ष जनमुखी प्रशासन निर्माण गरी समृद्ध देश बनाउने लक्ष्य रहेको बताए। सुरक्षाको प्रत्याभूति, सबैलाई अवसर प्राप्त होस् र सबैले सम्मानित जीवन बाँच्न पाउन् भन्ने उद्देश्य एमालेको रहेको उनले प्रष्ट पारे।

अधिकार, अवसर, सामाजिक न्याय र समानता, समृद्ध र सुखी नेपालका लागि एमाले क्रियाशील रहेको बताउँदै उनले भने, ‘एमालेका कार्यकर्ता नमुना हुनुपर्छ, जनताको समस्या समाधानमा तल्लीन, आचरणमा खोट लगाउने ठाउँ हुनुहुँदैन।’ एमालेका नेता कार्यकर्ता कुरा मीठासँगै काम पनि मीठा हुनुपर्छ उनले भने। कुरा मात्र मीठा गर्ने, काम नगर्ने नेता कार्यकर्ता जनतामाझ लोकप्रिय बन्न नसक्ने उनले बताए।

‘निष्ठापूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्छ, हाम्रो दल र अन्य दलमा राजनीतिक विचार, मिसन र लक्ष्यमा अन्तर भएकाले आफूहरू जनताको चाहना पूरा गर्नमै केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘हामी जोगी सन्न्यासी हैनौँ, घरपरिवार चलाउनु छ, छोराछोरी पढाउनुपर्छ त्यसका लागि आवश्यक आम्दानी चाहिन्छ, मितव्ययी ढंगले खर्च व्यवस्थापन गरिनुपर्छ।’ आम्दानी अनुसारकै खर्च गर्ने बानी बसाल्नुपर्छ उनले भने।

‘गरिबीले गरिबी निम्त्याउँछ, ऋण लिएपछि ब्याज बढ्छ,’ ओलीले थपे, ‘आम्दानी व्यक्तिको होस्, देशको किन नहोस् मितव्ययी ढंगले काम गर्नुपर्छ। आर्थिक अनुशासन कायम गरिनुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्