पर्यटन प्रबर्द्धनका लागि हिउँमाथि बैठक

meeting
लोकपाटी न्यूज
5 Shares

राजेन्द्र बिक/ बाजुरा, १८माघ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-७ को बैठक पोरखे लेकस्थित हिउँमाथि बसेको छ। ऐतिहासिक पोरखे लेकको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले सो बैठक हिउँमाथि बसेर गरिएको हो। बडिमालिका नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा बसेको वडा समितिको १२ औँ बैठक पर्यटन प्रबद्र्धन लगायत बिषयमा विभिन्न निर्णय सहित पोरखे लेकमा सम्पन्न भएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।

सो बैठक बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाको प्रमुख आतिथ्यमा भएको थियो। बैठकमा अतिथिका रुपमा बडिमालिका नगरपालिका वडा नम्बर-२ का वडा अध्यक्ष डम्मर महत लगायत वडा सदस्यहरुको सहभागिता रहेको वडा अध्यक्ष पाध्यायले जानकारी दिए। पोरखे लेक पर्यटकिय गन्तब्यका हिसाबले बाजुराकै उत्कृष्ट ठाउँका रुपमा लिइन्छ।

ऐतिहासिक पोरखेगडि,धर्मशाला,रमणीय जंगल,विभिन्न प्रकारका फूलहरु र जंगली जनावरको अवलोकनसंगै हिउँको सामिप्यमा रमाउन पर्यटकहरुका लागि अत्यन्तै मनमोहक पोरखे लेकको पर्यटन प्रबद्धन गर्न वडा कार्यालयले आवस्यक पहल गर्ने तथा नगरपालिका संग सो क्षेत्रको विकासमा सहयोगका लागि अपिल गर्ने निर्णय गरिएको छ।

पोरखे नजिकै रहेको कालाजग्रालाई समेत चिनाउन पनि वडा कार्यलयले काम गर्ने बताएको छ। यो मौसममा पोरखे लेक हिउंले सिंगारिएको छ।आजभोलि प्रत्येक दिन पोरखे लेकमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ।