विराटनगर। प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज बिहीबार प्रदेशभर सार्वजनिक विदा दिइएको छ।मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ। मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन्। प्रदेश सभाको हिजोको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामाकरण गरेको हो।
प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो। त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको थियो। मतदान प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए।
कोशी प्रदेश सभामा ९३ जना सांसद छन्। जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन्।