सुर्खेत। दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए। मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ।