दण्डहीनतातिर उन्मुख नेपाली समाज

लोकपाटी न्यूज
19 Shares

विसं २०७९ साल फागुन १ गते यातायात मजदुरहरूले बढाइएको ट्राफिक जरिवाना फिर्ता दिनुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने र प्रदूषण जाँचमा लगाएको शुल्क हटाउनुपर्ने, काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले काठमाडौं उपत्यका बाहिर जाने सबै सवारीसाधनलाई नयाँ बसपार्कबाटै पठाउन गरेको व्यवस्था खारेज गर्नुपर्ने माग राखेर गरिरहेको विरोधले नाटकीय मोड लियो। गोङ्गबु बसपार्क क्षेत्रमा स्थिति तनापूर्ण बन्यो। प्रदर्शनमा उत्रिएकाहरूले पसलहरू तथा यातायातका साधनहरू तोडफोड गरे। उक्त क्षेत्रको ल्होत्से सपिङ मलमा प्रदर्शनकारीले लुटपाट मच्चाए।

राजधानीको नयाँ बसपार्क क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनालाई सुरक्षा मामिलाका विज्ञहरूले दण्डहीनताको उग्र रूप भनेर चिन्ता व्यक्त गरे। उनीहरूले सुरक्षा निकायमाथिको चरम राजनीतिकरणले सुरक्षाकर्मीको मनोबल व्यापक गिरेको कारणले पनि यो अवस्था आएको जनाए। गोङ्गबुमा भएको उक्त घटनालाई प्रधानमन्त्रीले गम्भीररुपमा लिए, उक्त घटनामा लुटपाट गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन पनि भयो। त्यसमा दोषीलाई कारबाही होला जो-जो पीडित छन्, तिनीहरूलाई क्षतिपूर्ति पनि होला। तर यो घटनाले नेपाली समाज कता उन्मुख छ भन्ने कुराको प्रतिनिधित्व गर्छ।

यो अवस्था आउनुमा टेलिभिजन, पत्र-पत्रिका, सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्नेहरूलाई राजनीतिक दलहरूले संरक्षण गर्नु, समाजको नकारात्मक पाटो कोट्याएर राजनीतिमा आउनु र जनताले त्यस्ता प्रवृत्तिका मान्छेहरूलाई भोट दिएर वैधता प्रदान गर्नु गोङ्गबुमा भएको घटनालाई प्रोत्साहित गर्नु हो। मिडियामा ठूलाठूला स्वरले अर्कालाई तुच्छ गालीगलौज गर्नेहरू राजनीतिमा सफल जस्ता देखिए। तिनीहरूकै कारणले युवा वर्गमा सकारात्मक सोचको विकास भएन फलस्वरूप चोरी डकैती आगजनी र लुटपाटका घटनाहरू बढ्न थाले।

पछिल्लो समयमा लघुवित्तका नाममा गरिब ठग्ने संस्थाका कारण पीडित भएकाहरू रुँदै कराउँदै शहर छिरेका छन्। वर्षौंदेखि मिटर ब्याजका कारण घरबार विहीन हुन पुगेका र लघुवित्त संस्थाबाट पीडित भएकाहरू सरकारलाई आफ्नो पीडा सुनाउन प्रयत्न गरिरहेका छन्। हरेक दिन जसो माइती घर मण्डलामा धर्ना दिएर आफ्नो पीडा सुनाइरहेका छन्। त्यसलाई अवसरको रुपमा लिएर केही अराजक भिडहरूले लघुवित्तलाई बदनाम गर्न लागिपरेका छन् र आफ्नो निहित स्वार्थ पुरा गर्ने कार्डको रुपमा प्रयोग गरिरहेका छन्।

लघुवित्तको उदय हुनुको कारण र पृष्ठभूमि बुझ्न जरुरी छ। विपन्न व्यक्ति वा परिवार जसले हातमा सीप र मनमा जाँगर लिएर केही गर्न चाहेको छ, तर आर्थिक अभावका कारणले रुमलिएर बसेको छ, हो तिनै व्यक्ति वा समुदायलाई लक्षित गरी गाउँ समाजमा रहेका विपन्न परिवारका महिला तथा पुरुषहरूको समूहले व्यक्तिगत वा सामूहिक वा रुपमा सानातिना व्यवसाय सञ्चालन गर्न र अरूलाई पनि उद्यमी बनाउनका लागि कर्जा दिने र क्रमशः व्याज सहित सानो सानो किस्ता बनाई फिर्ता लिने, विना धितोको कर्जाको कारोबार नै आजको लघुवित्त वित्तीय संस्थाहरूको पहिचान भएको थियो। तर पछिल्ला वर्षहरूमा ठूला घरानाका व्यक्ति तथा परिवारले आफ्ना परिवारका सदस्यहरूलाई समेटेर सहकारी गठन गर्न र सहकारीको सिद्धान्त र मर्म अनुरूप नचल्नुले विकृतिहरू झाँगिँदै गयो र ठूला ऋणीहरूले अहिले ऋण मिनाहा गर्नुपर्ने, कालोमोसो दल्ने जुत्ताका माला लगाउने, नेपाल बन्द गर्ने जस्ता हर्कतहरु गर्न थालेका छन्। लघुवित्त सञ्चालन गर्दा कहाँ के-कस्ता कमी कमजोरीहरू रहे, त्यसलाई सच्याउनुको साटो गैरकानुनी हर्कतहरु गर्नुले तिनीहरूको मानसिकता र उद्देश्य के छ भन्ने कुरा बुझ्न गाह्रो छैन।

समाज आफ्नो मूल्य, मान्यता र शैलीको आधारमा सञ्चालन हुने एउटा बृहत् संगठन हो। समाजले त्यस देशको भविष्य निर्धारण गरेको हुन्छ। समाजलाई अग्रगति र व्यवस्थित गर्न सबै सदस्यहरूले संगठनको रूपमा काम गर्नुपर्छ। अन्यथा, समाज बिग्रिन्छ र देश अधोगतितिर उन्मुख हुन्छ।

(लेखकः कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध छन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्