रङ्गशालाको बाँकी निर्माणको काम अघि बढाउँछौं : प्रमुख दाहाल

Renu_Dahal
लोकपाटी न्यूज
6 Shares

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन्। नेपाल कराते महासंघको सातौं राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले बहुवर्षीय सहमतिसहित टेण्डर प्रक्रिया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरिन्।

रङ्गशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको जानकारी दिइन्। ‘मैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउँछौ भनेको थिए,’ उनले भनिन्, ‘निरन्तर पहल भएकै छ। केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु। ऋणको निकास हुनेसाथ रङ्गशाला निर्माण अघि बढाउन समस्या छैन।’

महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र ५ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गरिन्। गौतम बुद्ध क्रिकेट रङ्गशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रङ्गशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने प्रमुख दाहालले बताइन्।

भरतपुर महानगरपालिका नेपालका ७५३ पालिका मध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको उल्लेख गरिन्। भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उनको भनाई थियो।

महानगरपालिका प्रमुख दाहालले अब छिट्टै भरतपुरमा साईकलिङ प्रतियोगिता र लगत्तै बागमती प्रदेश र भरतपुर महानगरपालिकाको सहकार्यमा क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिइन्। भरतपुर-२२ को पहिटानीमा शनिबारदेखि सुरु भएको अधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यबाट उद्घाटन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासको लागि नेपाल सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरे। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै ७ औ अधिवेशन समापन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्