काठमाडौं। सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिएका छन्।
महासचिव गुरुङले भने, ‘यो नेताहरुबीच छलफल गरेर टुंग्याउने कुरा भयो।’ सत्ता गठबन्धनमा सहभागी दलले मन्त्रालयमा आ-आफ्नै दाबी गरेको सन्दर्भमा उनले भने, ‘माग त भइरहन्छ तर, मिटिङ पोइन्ट खोज्ने अर्को कुरा भयो।’
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले साँझको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, बारा- २ को उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताए। नेता झाले भने, ‘उपनिर्वाचनमा भाग लिने तयारी गरौं भन्ने नै छ। जसअनुसार आज निर्वाचन आयोगमा दल दर्ता पनि गर्यौं। दोस्रो कुरा, गठबन्धनभित्र छलफल चलाउने कुरा हो। आज पनि गठबन्धनको बैठक छ।’
माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी छन्।