‘काम गर्दा गाली पाउने मेयर’

Bharatpur_Mahanagar_Renu
लोकपाटी न्यूज
46 Shares
  • राजु भुसाल

नेपालकै केन्द्र भागमा रहेको चितवन राजनीतिक र आर्थिक हिसाबले काठमाडौंपछिको जिल्लाको रुपमा परिचित छ। गोरखा, लमजुङ, बागलुङ, पर्वतलगायत विभिन्न जिल्लाबाट सुगम र सहजताको खोजीमा मान्छेहरू भरतपुरमा बासाइसरेर आउनथालेपछि यसलाई ७६ औँ जिल्ला (हाल ७८औँ) को उपमा दिन थालिएको हो। ७ वटा पालिका रहेको चितवनमा सबैभन्दा धेरै जनसंख्या भरतपुर महानगरपालिमा छ, जो अहिले देशभरिमा नमुना शहरको रूपमा स्थापित भएको छ।

जनघनत्व बढ्ने र नयाँ सहरमा परिणत हुँदासमेत बदलिँदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन। ६ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो शहर सुस्त जस्तै थियो। नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदासमेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन। अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनि बेहोर्नुपर्ने हैरानीले भरतपुरवासीलाई सधैँ बिझाइरहन्थ्यो। साबिकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँविकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गरेपछि यो भरतपुर महानगरपालिका बनेको हो।

भरतपुर महानगरमा स्तरोन्नति त भयो, तर महानगर हुनका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास थिएन। त्यहीबीच महानगरको नेतृत्व गर्नेगरि माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएर आइन्। त्यसपछि हो, भरतपुरले काँचुली फेर्न थालेको।

अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको शहरहरूमध्येको अग्रणी शहरमा पर्छ। नारायणी नदीको तटमा अवस्थित यो शहर चितवनलगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा छ। हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ।

फेरिँदै गरेको भरतपुरको मुहार

रेनु दाहाल जब मेयर बनेर भरतपुर महानगरपालिकामा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो। जनताले बाटोघाटोको (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए। मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफ्नो कामको सुरुवात गरिन्। योजनाको अनुगमन गर्ने र नयाँ योजना निर्माण गर्दै बजेटको लागि ताकेता गर्ने काम उनको दिनचर्या नै बन्यो। ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा उनी मेयर भएर आएपछि ग्रावेलको काम गरिन्।

केन्द्रीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमी महानगरीय रिङरोड ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन्। त्यसपछि उनले सघन शहरी विकासबाट १० किमी, प्रदेश सरकारबाट ८.५५ किमी, सडक विभागबाट १२ किमी र महानगरबाट १० किमी गरी जम्मा ४०.५५ किमी रिङरोडको काम अगाडि बढाइन्। बाँकी ४८.०६५ किमी निर्माणको काम अहिले अगाडि बढिरहेको छ।

पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि उनले १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाइन्। साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन्। त्यस्तै, हुलाकी सडकको १९ किमी विस्तार एवं स्तरोन्नति र भरतपुर-मेघौली-गोलाघाटको सहायक राजमार्ग खण्डको ८ किमी सडकको काम पनि सँगसँगै अगाडि बढाइन्।

नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन्। वर्षेनि त्यहाँ बजेट छुटिएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुँदैनथ्यो। जति बजेट आउँथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो। नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालीन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन्। अहिले झण्डै ६ अर्बको हाराहारीमा नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य महानगरले गरेको छ। संस्थागत विद्यालयहरूको साझेदारीमा २३९ जना विद्यार्थीहरूलाई मेरिट बेसमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने काम महानगरले गरेको छ। भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी सबै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरेको देखिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेसन कार्यक्रमको थालनी महानगरले गरेको छ।

महानगरपालिकाको आन्तरिक आयको १२.५ प्रतिशत बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ। एमबीबीएस पढ्ने भरतपुरका विद्यार्थीले लगभग ४० हजार छात्रवृत्तिमा पाउने व्यवस्था महानगरले मिलाएको छ। छात्रालाई स्कुल आवतजावतका लागि साइकलको व्यवस्था महानगरले गरेको छ। मेयरसँग छात्रा कार्यक्रम त्यसमा जोडिएको छ। कतिपय ठाउँमा स्कुल बस थिएनन्। महानगरले नै स्कुल बसको व्यवस्थापनसमेत गरेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरूप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।

भरतपुर महानगरभित्रका २३ किमी मुख्य सडकहरूमा एक अर्ब बिस करोडको लागतमा तारहरूलाई भूमिगतिकरण गर्ने योजना, नारायणी नदीमा सिक्नेचर पुल, नारायणी नदी किनारलाई ‘सी बिच’ मोडलमा रूपान्तरण जस्ता अर्बौंका आयोजनाहरू निरन्तर चलिरहेका छन्। वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका- २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन्।

भर्खरै मात्र एसियालि बैंकको सहयोगमा नेपाल सरकार खानेपानी मन्त्रालयको अन्तर्गत नेपालकै ठूलो एकीकृत ढल निर्माण आयोजनाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएर काम अगाडि बढिसकेको छ। भरतपुरका बासिन्दाले विकास निर्माणमा प्रत्यक्ष महसुस गरेका छन्। कार्य सम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट महानगरपालिका बनेको छ।

यी सम्पूर्ण कामहरूलाई हेर्दा अहिले भरतपुर महानगरपालिका र सिंगो चितवनले विकास र समृद्धिको गोरेटो कोरेको छ। यो नै पूर्ण त होइन। पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको भरतपुर महानगरपालिकाले अब उत्पादन र रोजगारीको क्षेत्रमा अगाडि बढ्दै छ।

काम गरेर गाली पाउने मेयर!

रेनु दाहाल माओवादी आन्दोलनमा संलग्न एक सक्रिय महिला हुन्। जन्मे हुर्केदेखि नै राजनीतिकरण भएको उनको जीवनलाई अहिले जसरी प्रचार गरिएको छ, त्यो कुनै आम सर्वसाधारणले गरेका होइनन्, यहाँ एउटा बौद्धिक तप्का पनि छ, जो बुझेर पनि बुझ पचाइरहेको छ। विरोधको लागि विरोध गरिरहेको छ। सत्य स्वीकार गर्ने हिम्मत राख्दैन, तर आफूलाई स्मार्ट सम्झन्छ। अरू स्थानीय तहमा के भइरहेको छ ? बुझ्न खोज्दैन, तुलना गर्दैन, तथ्यांक हेर्दैन मात्र भरतपुर महानगरतिर फर्कन्छ र गाली बर्साइरहन्छ एकोहोरो। लाग्छ- उ अहिले बोर्डरमा युद्ध लडिरहेको छ। महानगरपालिकामा विकास गर्नु उनको कमजोरी हो ? महानगरपालिकामा न्यून बेरुजु आउनु उनको कमजोरी हो ? सुकुम्वासीहरूले जग्गाधनी पुर्जा पाउनु उनको कमजोरी हो ? ३ दशक लामो राजनीतिक यात्रा गरिसकेपछि प्रतिस्पर्धामा उत्रनु अपराध पक्कै होइन होला।

बिहान उज्यालो भएदेखि साँझसम्म न भोक, न प्यास भनेर भरतपुर महानगरपालिका जनताको विकास र समृद्धिको सपनालाई पूरा गर्नको लागि अहोरात्र खटिएर हिँड्ने विकासप्रेमी जनप्रतिनिधि जसले आफ्नो व्यक्तिगत इच्छा, आकांक्षालाई तिलाञ्जलि दिएर हरेक दिन दौडिरहन्छ, उनले ताली पाउनको लागि यो भन्दा धेरै अझै कति त्याग र समर्पण गर्नुपर्ने हुन्छ ? काम गर्नेमाथि बारम्बार किन प्रहार गरिन्छ ? हाम्रो समाज कतातर्फ गइरहेको छ ? हामीले यो कुराको खोजी गर्ने बेला भएन र ? हाम्रो समाज, हाम्रो समुदाय काम गर्नेलाई गाली गर्ने, नगर्नेलाई पत्याउने खालको बन्यो भने पक्कै पनि त्यो राम्रो संकेत होइन। महालेखा परीक्षणको प्रतिवेदनअनुसार न्यून बेरुजु रहेको महानगरपालिकामा भरतपुर नै छ।

रेणु दाहालको राजनीतिसँग विमति राख्ने अधिकार सबैलाई छ, तर रेणु दाहालका बारेमा यसरी प्रचार गरिँदै छ, मानौं उनी नेता बन्नु पाप हो, नियम कानुनविरुद्ध हो आदि इत्यादि। जहाँसम्म प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँग उनको बुवा छोरीको सम्बन्ध छ, त्यो अरूको हकमा किन लागू हुँदैन ? के प्रचण्ड पुत्री हुनु रेणुको दोष हो ? के परिवारलाई व्यक्तिगत सुख सुविधा या क्यारिअरतर्फ नलगेर देशलाई योगदान दिने स्वयंसेवी क्षेत्र राजनीतिमा लाग्न प्रेरित गर्नु प्रचण्डको मूर्खता हो ? के रेणुले राजनीति गर्नु नै अपराध हो ? हैन, भने उनीमाथि सामाजिक सञ्जालमा यस प्रकारका निर्लज्ज टिप्पणी र चर्चा किन ? के हाम्रो राजनीतिक सिद्धान्तमा कुनै नेताको छोरीलाई राजनीतिमा आउन निषेध गर्नुपर्छ भनिएको छ ? यदि होइन भने हामी र कट्टरतावादी चिन्तन राख्ने केही इस्लामिक नेताहरूमा के फरक छ ?

अन्त्यमा, एक त राजनीतिमा महिलाको सहभागिता र नेतृत्व निर्माणको निरन्तरता तथा नीति निर्माणको तहसम्म पुग्न कठिन छ। त्यस्तै बल्लबल्ल नेतृत्व गर्ने तहमा पुग्न कोसिस गरेका महिलामाथि यसरी जाइलाग्दा उनमा पर्ने मानसिक असरको ख्याल गरौं। एउटा असल जनप्रतिनिधि, युवा र इमानदार महिला नेतृत्व हामीले पाएका छौं। मानव हुनुको नाताले केही कमिकमजोरी भएमा सकारात्मक सल्लाह सुझाव, स्वच्छ आलोचनासहित प्रोत्साहन गर्ने बानीको हामी सबैले विकास गरौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्