काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आव ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो।
पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो। सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ।
यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी.डी. अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए।