पाटन। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्। ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताए।
‘पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु। आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन। आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई बिस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अंग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो। हामी मातृभाषा भन्दा अंग्रेजीमा गर्व गर्न थाल्यौं। यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौं,’ उनले भने।
मन्त्री श्रेष्ठका अनुसार हाम्रो पहिचान र संस्कृति बनाउने काम हामीले नगरे कसैले गर्दैन। ‘तीनै तहको सरकार, स्थानीयहरू र गुठीहरू मिलेर यसको रक्षा र जगेर्ना गर्नुपर्छ,’ उनले भने, ‘खोकनावासी नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु।’
मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरूको उत्पीडन नहुने बताए। उनले पहिचानको रक्षा गर्न नसक्दा आर्थिक मात्रै नभई विभिन्न सांस्कृतिक र पहिचानका दृष्टिकोणबाट पनि पीडित हुनुपर्ने तर्क गरे।