राष्ट्रिय एकताको भावना प्रगाढ बन्नेमा विश्वास छ : राष्ट्रपति

Ramchandra_Paudel
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद-उल-अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।

मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताए। मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ।

‘यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ, हाम्रो विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने मेरो विश्वास छ,’ शुभकामना सन्देशमा भनिएको छ।

राष्ट्रपति पौडेलले इद-उल-अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन्।