काठमाडौं। भारतको हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन नेपालीको मृत्यु भएको छ। सोमबार बिहान गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा पश्चिम रूकुमको त्रिवेणी गाउँपालिका–९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छा छोरा मोहन वली रहेका छन्।
देबबहादुरका जेठा छोरा लोकेन्द्र वली भने घर बाहिर रहेकाले बाँच्न सफल भएका त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए। बाउआमा र जेठा छोरा रोजगारीका लागि सिम्लामा बस्दै आएका थिए भने कान्छा छोरा एसईई परीक्षापछि बाउआमालाई भेट्न सिम्ला गएका थिए।