‘ज्ञानले सोच बदल्छ’ भन्ने मूल सोच बोकेर पत्रकारिताको जगतमा उदाएको लोकपाटी अनलाइन समाचार पाठकसामु एउटा विश्वास युक्त छाप छाड्न सफल भएको छ। पत्रकारिताको मूल मर्म र जिम्मेवारीलाई यसले पूरा गर्दै आइरहेको छ। निष्पक्ष रूपमा जनहितको पक्षमा काम गर्ने प्रतिबद्धताका साथ लोकपाटीले विविध सामग्रीमार्फत पाठकको मन जित्न प्रयास गरिरहेको छ। पाठक र पत्रकारबीचको संयुक्त प्रयासमा मात्र पत्रकारिताको उज्ज्वल भविष्य सम्भव छ भन्ने तथ्यमा खरो रूपमा लोकपाटीले तपाइहरूसामु आफूलाई उभ्याउन प्रयास गरिरहेछ।
जनसमुदायबीच गुणस्तरीय र विशिष्ट सेवा दिने प्रयासमा यसले आफूलाई थप समुन्नत, समयसापेक्ष, छिटोछरितो र सत्यतथ्य सूचना समाचार सम्प्रेषण गर्ने पक्षमा ठोस रूपले अगाडि बढ्दैछ। यस पत्रिकाले पत्रकारिताको मूल्य मान्यतालाई उँचो बनाउँदै स्वतन्त्र पत्रकारका लागि गर्विलो इतिहास रच्न सहयोग पुर्याउने लक्ष्य राखेको छ। कलात्मक सम्पादकीय, खोज पत्रकारितालाई बढवा दिने र समसामयिक विचार, टिप्पणी तथा लेख रचनामार्फत वस्तुगत अवस्थाको गहिरो बोध गराउन कुनै कसर राख्ने छैन।
मानिसलाई विश्व समाज, देश समाजका साथै आफू, आफ्नो परिवार र समुदाय बुझ्न मद्दत पुग्ने गरी समयसापेक्ष समाचार प्रदान गर्दै आएको छ। गुणस्तरीय सेवाका क्षेत्रहरू, रचनात्मक र सिर्जनात्मक काम, सेवा र प्रतिफलका बारेमा वस्तुगत र खोजमूलक सूचना सम्प्रेषण गरी व्यक्ति र समुदायलाई सामाजिक भावना जगाउन, सामाजिक सद्भाव र एकताको सन्देश छर्नसक्ने कामका लोकपाटी पछि परेको छैन। सबै उमेर समूहका समुदायको साथी बन्न प्रयास गरिरहेको छ। विपन्न समुदायको हकहित र अधिकारका बारेमा गम्भीर सवालहरू उठाउन कुनै कसर बाँकी राखेको छैन। राष्ट्र, राष्ट्रियता, राष्ट्रिय, स्वतन्त्रता र स्वाधीनताका सवालमा एउटा राष्ट्रसेवकले गर्ने भूमिका गर्दै आएको छ।
लोकपाटी सम्पादक टिम, अनलाइन पत्रकारिताको मूल्य मान्यतालाई जीवन्त तुल्याउने अठोटका साथ व्यवहारमा लागू गर्दै अगाडि बढेको छ। यो यस टिमको दैनिकी र जीवनपद्धति बन्दैछ। यसले मूल्यांकनकर्ताका सुझावहरूलाई पनि आफ्नो मार्गदर्शकका रूपमा अंगीकार गर्दछ। आज अनलाइन भविष्यबारे विभिन्न चर्चा परिचर्चा चलिरहेको सन्दर्भमा यो टिम अनलाइनको भविष्य सुन्दर देख्दछ। यसको भविष्य कोर्ने मुख्य पात्र पत्रकारकै टिम एकता हो भन्ने ठोकुवा गर्दै आफैलाई चुनौती दिएर अगाडि बढ्ने हिम्मत गरिरहेछ।
पत्रकारिताको क्षेत्रमा काम गर्दा सहज कहिल्यै हुँदैन। कुनै न कुनै प्रकारका समस्या परिरहन्छन्। जब पत्रकारिताको धर्म र मर्मलाई छोडिँदैन तब त्यसबाट डराउनुपर्ने वा झण्झट मान्नुपर्ने कारण हुँदैन। कहिले अनाहकमा लाञ्छना सहन पर्दछ, अपहेलना खेप्न पर्दछ, त्यस्तो अवस्थामा हामी नागरिकका अधिकारको रक्षा गरिरहेको बोध गर्न सक्नुपर्दछ। किनकि, रचनात्मक सामग्री, सूचना र विचारहरू सर्वसाधारणले पाउनु पर्दछ। यसो गरिरहँदा कानुनै मिचेर भने हामीले लम्कने प्रयास गर्न हुँदैन। किनकि, कच्चा स्वाभावले अनलाइन पत्रिकाको गरिमामा चोट पुर्याउने धेरै सम्भावना रहन्छ। यो छापा पत्रकारिता जस्तो सजिलो अवश्य छैन। यहाँ टिमका हरेक सदस्यहरू त्यति नै जिम्मेवार बन्नुपर्दछ, जति सम्पादक।
निष्पक्षता हाम्रो पत्रकारिताको आधार हो। हामीले जस्तोसुकै अवस्थामा पनि जनहितका पक्षमा काम गर्नुपर्दछ। हामी हरेक सार्वजनिक सरोकारका मुद्दाका प्राकृतिक स्वरूप उद्बोधन गर्दछौं। भ्रष्टाचार, ढिलासुस्ती, अन्याय अत्याचार र लापरबाहीका विरुद्ध खुला हमला बोल्दछौं। हाम्रा विचारहरूले फराकिला क्षितिज उघारुन्, गहिरो अन्धकारभित्र उज्यालो दिन प्रयास गरून्। आकाश होस् वा पातल सबैलाई एक ठानुन्। हामीलाई दबाब स्वीकार्य छैन। हाम्रो सम्पादकीय र समाचारमा कोही कसैसँग कुनै प्रकारको सम्झौता हुँदैन भनी हामी सधैँ पुष्टि गर्न चाहन्छौं।
आधारभूत लोकतान्त्रिक सिद्धान्तको मूल्य मान्यताबाट हामी कहिल्यै अलग हुँदैनौ। हाम्रा अभिव्यक्ति स्वतन्त्रताभित्र कर्तव्य र जिम्मेवारी लादिएका हुन्छन्। हामी सार्वजनिक हितका लागि काम गरिरहेका हुन्छौं भन्ने कुरा- जस्तै सुख होस् वा दुखमा कहिल्यै भुल्दैनौं। वास्तवमा हामी कमजोर पक्षका सारथि हौं, गतिहीनका लागि गति हौं। दिशाहीनका लागि दिशा हौं।
जवाफदेहीता हाम्रो पत्रकारिताको मुख्य मर्म भएकाले यो हाम्रो टिमका सबै सदस्यको कर्तव्य बनेको छ। पाठक प्रतिक्रिया हामी सम्पादक टिमको उर्जा र हौसला हो। यसले राम्रा नराम्रा दुवै पक्ष समेट्ने हुनाले हामी यसलाई सबैभन्दा प्रिय मित्रको रूपमा लिने र सम्मान गर्ने गर्दछौं। काम गरेपछि त्यसको पक्ष विपक्षमा विचार विमर्श हाम्रो दैनिकीको अंग बन्नेछ। यसबाट हामी हाम्रा गति स्थिति र अवस्थाबारेमा थाहा पाउने कोसिस गर्नेछ। यी हाम्रा प्रतिबद्धता हाम्रा निजी विषय होलान्, तर यसले सार्वजनिक सामाजिक विषयलाई नै समेटेको छ। सिंगो समाजप्रति जिम्मेवार पत्रिका बनेर माया र सद्भाव बटुल्न चाहेको छ।
देशको अर्थतन्त्र अझै पनि अप्ठ्यारो परिस्थितिमा छ। व्यवसायीहरू आफ्नो व्यवसायको दिशा र भविष्यमा धुमिल चित्र देख्नुपर्ने परिस्थितिमा छन्। यस्तो परिस्थितिको अन्त्य गरी मुलुकमा व्यावसायिक तथा लगानीमैत्री वातावरण निर्माणका निम्ति सञ्चारजगतले प्रेरणादायी भूमिका खेल्नुपर्दछ भन्नेमा हामी स्पष्ट छौं। आगामी दिनमा यसका निम्ति थप प्रयास हुने प्रतिबद्धता व्यक्त गर्दै नयाँ सोंच, संकल्प र योजनाका साथ अगाडि बढिरहेको लोकपाटी मिडियाको टीमसँग जीवन्त सहकार्य र सहयोगका निम्ति सम्पूर्ण विज्ञापनदाताहरू, लेखक एवं टिप्पणीकारहरू र आम पाठकहरूमा हामी विनम्र अपिल गर्दछौं।
लाेकपाटी जन्ताको आवाज हो र बन्दै जावस । भ्रष्टचारका विविध रुपको उजागार गर्दै र त्यसको जरामा पुगेर जन्तालाई सुसूचित गराेस । जन्ताको साथनै हरेक कुरुतीहरुमाथि धावा बाेल्न अचुक अस्त्र हाे । लोकपाटि शाेषित पिडित पक्षमा दृढता साथ उभियोस । नेपाली जनताको सहिमानेमा आवाज बनाेस । शुभकामना ।