नेपालमा शिक्षाको कस्तो योजना तर्जुमा गर्नु पर्दछ ? भन्ने प्रश्न बारेको बहस वीर शमशेरको पालादेखि नै चलेको हो। अहिले २१ शौं सदीको ८० को दशक कुदिरहेको अवस्थामा पनि यही रटान बारम्बार दोहोरिई नै रहेको छ। झण्डै स्वर्ण वर्ष पुग्न लागिसक्दा पनि नेपालको प्राविधिक शिक्षा समय अपेक्षाकृतरूपमा अगाडि बढ्न सकेन। विक्रम संवत् २०१०/११ मा पहिलो राष्ट्रिय शिक्षा अयोग बनेको थियो। त्यो समयमा शिक्षामन्त्री डिल्लीरमण रेग्मीले शिक्षा कस्तो हुनुपर्दछ भनेर बोल्दा ‘शिक्षालयबाट निस्केका केटाकेटीहरूले आफै कमाउन सक्ने हुनुपर्दछ’ भनेका थिए।
नेपालमा शिक्षाको विकासमा गुणात्मकतिर ध्यान दिएन र मात्रामा ध्यान दियो, यसैले शिक्षाले देश विकासमा चाहिने जति योगदान दिन सकेन। समाज विज्ञानले मात्राबाट गुणमा परिवर्तन गर्न सचेत हस्तक्षेपको माग गर्दछ। प्राविधिक शिक्षाको इतिहास हाम्रो संस्कृतिसँग जोडिएको पनि यसलाई निम्न कोटीको संज्ञा दियो। जसले गर्दा आम जनसमुदायको विकास गतिमा प्राविधिक शिक्षाको महत्वलाई निस्तेज पारियो।
नेपालमा विद्यालय सामुदायिक‚ संस्थागत (निजी कम्पनी ऐनमा दर्ता भएका ) ट्रस्टबाट सञ्चालित र धार्मिक संस्थाहरूबाट गुरुकुलीय पद्धतिमा सञ्चालित छन्। यी सबै विद्यालयहरूमा प्राविधिक शिक्षाको सञ्चालन हुँदैनन्। सामुदायिक विद्यालय मात्रै प्राविधिकधार सञ्चालनमा आएका छन्। नेपालमा नयाँ संविधान २०७२ ले शक्ति सम्पन्न स्थानीय सरकार बनाएको छ। यो सरकार समुदायमै आधारित भएकोले विद्यालय सञ्चालन र अनुगमन‚ आदि सम्पूर्ण जिम्मा स्थानीय सरकार मातहतमा आएको छ।
विद्यालयहरूको तहगत वर्गीकरण
प्राथमिक विद्यालयहरूमा कक्षा १-५‚ आधारभूत विद्यालयहरूमा कक्षा ६-८‚ माध्यमिकमा ९-१० र उच्च माध्यमिकमा ११-१२ रहेका छन्। हरेक माविमा १२ कक्षा सञ्चालनमा छैनन्। भौतिक पूर्वाधार विद्यार्थी सङ्ख्या आदिको आधारमा कक्षा १२ सम्म स्वीकृत दिने र शिक्षकहरूको दरबन्दी सोही आधारमा गरिएको हुन्छ।
विद्यालयहरूमा पढाइने धारहरू। १- साधारण : मानविकी विज्ञान गणित जस्ता विषयको पढाइ हुन्छन्। २- प्राविधिक : माध्यमिक तहमा प्राविधिक विषयहरूमा पढाइ हुन्छ। शिक्षा मन्त्रालयले ब्रिटिस काउन्सिल‚ EU र दक्षताको सहकार्यमा एक प्राविधिक शिक्षा विस्तरको रणनीति तयार गरेको छ। २०७८ मा ६३५ सङ्ख्यामा प्राविधिकधार उल्लेख छ र २०७९ सम्म ७०९ पुराउने लक्ष्य लिएको पाइन्छ। अहिले कति भए त्यसको तथ्यांक भेटिँदैनन्।
ख) संस्थागत विद्यालय: यस्ता विद्यालयहरू कम्पनी ऐन अन्तरगत सञ्चालनमा छन्। यिनलाई निजी विद्यालय भनेर चिनिन्छन्। पाठ्यक्रममा सरकारको नियन्त्रणमा छ, तर सम्बन्धित विषयको ज्ञानको दायरा फराकिलो बनाउन अतिरिक्त (रिफ्रेन्स) किताबहरू राखेर अभिभावकलाई किनाएको देखिन्छ। यी विद्यालयहरूमा प्राविधिक धारको पढाई राखेको पाइँदैन।
प्राविधिकधार
प्राविधिक धारको पढाई कक्षा ९ देखि सुरुवात सामुदायिक विद्यालयमा भएको छ र शिक्षा मन्त्रालय अन्तरगत सञ्चालनमा छन्। यसमा सिभिल, बिद्युत् कम्प्युटर साइन्स (IT) देखि कृषि अन्तरगत पशुपालन र बाली विज्ञान जस्ता विषयहरूको पढाई हुन्छन्। यसरी प्राविधिक धार सञ्चालनले दक्ष जनशक्ति कत्तिको निस्कन्छन् ? एक बहसको विषय बनेको छ। यसरी सञ्चालित विद्यालयहरू शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयको प्रतिवेदन अनुसार ६३५ पुगेका देखिन्छ। यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) भित्र विद्यालयहरूमा एनेक्स कार्यक्रम सञ्चालित छन्। यो दोहोरो धार हटाउन अत्यन्तै आवश्यक छ अथवा विद्यालय तहमा एउटा संस्था अन्तरगत विद्यालयहरू सञ्चालन गर्न आवश्यक हुन्छ।
प्राविधिक शिक्षाका चुनौतीहरू
नेपालको शिक्षाका कुरा गर्दा आवश्यकता पुरा गर्ने किसिमका शिक्षा अत्यन्तै कमजोर छ र उद्योगहरू न्यून छन्। भएका केही उद्योगहरूमा अधिकांशमा सीमापारिबाट आएका कर्मचारीले भरिएका पाइन्छ। मेकानिकल अध्ययन गराउने शिक्षण संस्थान कुनै छैनन्। अहिले विद्यालय तहमा कम्प्युटर (IT) सम्बन्धित विषयहरू पढाइ सुरु भएको छ। यो सराहना योग्य छ। तर यी विषयहरूमा पनि प्रशिक्षण गर्ने जनशक्तिको अभाव देखिन्छ।
प्राविधिक शिक्षाको समस्या समाधान कसरी गर्ने ? यसको समाधान अहिलेसम्म आएको छैन। बहुमुखी विद्यालयको अभ्यासले सार्थकता पाएन। नयाँ शिक्षाको व्यावसायिक शिक्षाले पनि यसको समाधान गर्न सकेन। अहिलेको प्राविधिक धारलाई समय सापेक्ष बनाउन योजनाको अभाव छ। उद्यमशीलताको विकास गराउने किसिमले यसको विकास गर्न जरुरी छ।
प्राविधिक शिक्षा हरेक विद्यालयमा सञ्चालन गर्न आवश्यक छ ? यसको समाधान यसैको सेरोफेरोबाट खोज्न आवश्यक देखिन्छ। पहिलो स्मार्ट प्राविधिक शिक्षा के हो ? बुझ्न आवश्यक हुन्छ। हामी अहिले चौथो औद्योगिक क्रान्तिमा छौ। र यसको सुरुवात स्वचालित मेसिनहरू र कम्प्युटरको विकासबाट भएको हो भने अहिले यसको कृषि उत्पादनमा पनि ठूलो योगदान रहेको छ। हरेक मेसिनहरू पनि स्वचालित छन्। उड्ने कारहरूको विकास भएको छ। घरका हरेक कार्य रोबोटिक बन्दैछन्। पति पत्नीको आवश्यकता पनि रोबोट्सबाट परिपूर्ति हुने युग, पाँचौँ औद्योगिक क्रान्तिको सुरुवातमै देखिएको छ।
अहिले यस्ता रोबोटहरू विकास भएका छन्, जसले शब्द भण्डारको विकास समेत अन्तरक्रियाबाटै गर्ने गरी दोहोरो कुरा गर्ने भएका छन्। यो सबैको गहिरो अध्ययन पश्चात् सोही अनुरूपको प्राविधिक विद्यालयको स्थापना गर्न आवश्यक छ। प्राविधिक विद्यालयमा विभिन्न विषयमा दक्षता हासिल गर्न दक्षतामा आधारित (Competency base) पाठ्यक्रम र सोही अनुरूपको पेडागोजी निर्माण गर्न आवश्यक छ।
औद्योगिक क्रान्तिका परिवर्तनहरू र नेपालको आवश्यकतालाई ध्यानमा राख्दै पोलिटेक्निकको निर्माण आवश्यक छ। यी पोलिटेक्निकका ग्र्याजुएटलाई भर्किटल लिंकमा जोड्ने गरी वैधानिक व्यवस्था गर्न पर्दछ। पोलिटेक्निकबाट पास भएकालाई एक वर्षको उद्योगहरू सञ्चालन गर्ने कार्य दक्षता तालिम गरेर स्वरोजगार बन्ने अथवा माथि अध्ययन गर्ने छनोट गर्न दिने कुरा अनिवार्य बनाउनु पर्दछ।
काममा जानेलाई कामको व्यवस्था गरिदिने र स्वरोजगारमा जानेलाई अनुदान र ऋण दिने मोडेलमा सहयोग गर्ने, यिनीहरूलाई देशमै अनुसन्धान र उत्पादनमा प्रोत्साहन गर्ने, पोलिटेक्निकमा स्टार्ट अप व्यापार मोडेल विकास गरी सहयोग पुराउने, उत्पादित वस्तुहरूको बजारीकरण र पोलिटेक्निकका उत्पादन शाखाहरूको स्थापना गर्ने र उत्पादन शाखाहरू बिजनेस मोडेलमा जान आवश्यक हुन्छ। यस्ता शाखाहरूमा हप्तामा २० घण्टा अनिवार्य काम गराउने र काम अनुसार पारिश्रमिक व्यवस्था गर्ने, यसरी दक्षता हासिल गर्दै कमाउने वातावरणको सृजना गर्ने।
प्राविधिकधारको सुरुवात
प्राविधिकधार कक्षा ९ बाट सुरु गरेर १२ कक्षासम्म हाल सञ्चालित छ, यसलाई यथावत् राख्ने र प्राविधिक शिक्षालाई पूर्ण आवासीय बनाउन आवश्यक देखिन्छ। यस्ता पोलिटेक्निक गाउँपालिका दुई अथवा तिन मिलेर बनाउन सकिन्छ। यसरी संयुक्त रूपमा स्थापना गरी सञ्चालन गरेमा पूर्ण क्षमताका हुन सक्छन्। यसमा धेरैभन्दा धेरै विषयहरू समावेश गर्ने सकिन्छ। व्यापार मोडेलका तालिमहरू पनि सञ्चालन गर्न सकिन्छ। हरेक उत्पादित जनशक्तिलाई उद्योगहरू सञ्चालनका आधारहरू जस्तै गरी विकास गर्न सकिने वातावरण तयार गर्न पर्दछ। यसमा प्रतिफल युक्त परिणाम ल्याउन सक्ने विद्यार्थीहरूलाई बिटेक‚ इन्जिनियरिङ र व्यवस्थापन बिबिए पनि खुला गर्ने। उच्च शिक्षाका विषयमा अलि खुकुलो गर्ने नपुग विषयका क्रेडिट आवर पुरा गर्न अतिरिक्त कक्षाको व्यवस्था गर्न आवश्यक छ।
समस्या र समाधानका उपायहरू नेपालमा
प्राविधिक धारलाई कमजोर विद्यार्थीले मात्र पढ्छन् भन्ने जुन लिगेसी छ, त्यसलाई हटाउन आवश्यक छ। यसका लागि समानान्तर भर्किटल लिंक बनाउन जरुरी छ। शिक्षामा सबैतिर राष्ट्रिय योग्यता प्राप्त फ्रेममा आबद्ध गर्ने र यसको आधारमा दक्षता निर्धारण गर्ने कुरा सहज तुल्याउन पर्दछ। उत्पादित जनशक्तिलाई रोजगारको सुनिश्चित गर्न र स्वरोजगारको वातावरण सिर्जना गरी लगानीको सुनिश्चितता गर्ने वातावरण तयार गर्नु पर्दछ। यसो गर्दा प्राविधिकधारमा विद्यार्थी सङ्ख्या अत्यधिक हुनेछ। यो अहिले सञ्चालित धारभन्दा फरक धारहरू भनेर चिन्न आवश्यक छ।
नयाँ मोडेलमा लैजान फेज आउट गर्ने
अहिले सञ्चालन भएको धारले विद्यार्थीमा पढ्ने भार बढी भएकाले कक्षा ११ मा विद्यार्थी सङ्ख्या न्यून भएको अध्ययनले देखाएको छ। यसलाई फेज आउट गर्दै नयाँ मोडेलमा प्राविधिक शिक्षा लैजान आवश्यक देखिन्छ। के अहिले तयार परेको विधेयकमा यसको परिकल्पना छ ? छैन भने यसलाई परिमार्जन गर्न आवश्यक छ। राज्य यसमा गम्भीर भएर लाग्न आवश्यक छ।
नेपाललाई समृद्ध बनाउन प्राविधिक शिक्षामा परिवर्तन आवश्यक छ। नेपालले आफ्नो विकास आफै गर्नु पर्दछ भन्ने सोच आम जनमानसदेखि नीति निर्माण तहमा हुन जरुरी छ। अहिले नगरे कहिले गर्न, युवा शक्तिलाई देशमा लगानी र रोजगारको सृजना प्राविधिक शिक्षाले उत्पादन गर्ने दक्ष जनशक्तिले मात्र गर्न सक्छ।