- विद्या ढकाल
अहिले नेपाली समाज चरम सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेछ। कतिपय परम्परागत सामाजिक, आर्थिक सम्बन्धहरू भत्कँदै नयाँ नयाँ सम्बन्धहरू विकास हुँदैछन्। लामो समय रजगज गरेर बसेको सामन्तवादका कतिपय अवशेषहरू बाँकी रहे पनि अब हाम्रो समाज मूलत: पूँजीवादी चरणमा प्रवेश गरेको छ।
हाम्रो कमजोरी, यो अवस्थामा राष्ट्रिय पूँजीको विकासगरी हामीले आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन सकिरहेका छैनौं। हामीलाई दलाल पूँजीवादले पूरै गाँजेको छ। दलाल पूँजीको वर्चश्वका कारण हाम्रो अर्थतन्त्र डामाडोल हुन पुगेको छ। यसर्थ अहिले दलाल पूँजीवादसँगको नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोध बन्न पुगेको छ। यो परिस्थितिमा दलाल पूँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गरी समाजवादको यात्रामा अघि बढ्नु नै हाम्रो मुख्य कार्यदिशा बन्नु पर्दछ।
बदलिँदो सामाजिक, आर्थिक परिवेशमा नेपालको कम्युनिष्ट आन्दोलनसामु गम्भीर चुनौतीहरू खडा भएका छन्। एकातिर प्राविधिकरुपमा यो टुटफुटको चक्रबाट आक्रान्त छ, भने अर्कोतर्फ वैचारिकरुपमा अन्यौलग्रस्त बनिरहेछ। यद्यपि नेपालका कम्युनिष्ट पार्टीहरूले आँफूलाई मार्क्सवाद, लेनिनवादको पक्षपाती बताउँदै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य रहेको कुरा गर्दै आएका छन्।
आत्मकेन्द्रित सोचबाट ग्रसित
उनीहरूले अंगालेको कार्यशैली र कार्यदिशालाई नियाल्दा सही दिशामा अघि बढिरहेछन् भनी ढुक्क हुने अवस्था भने देखिँदैन। अधिकांश पार्टीहरूको शीर्ष नेतृत्व दलाल, भ्रष्ट, कमिसनखोर साथै नोकरशाहहरूको घेराबन्दीमा रहेको छ। नेता र कार्यकर्ताहरू पनि आत्मकेन्द्रित सोचबाट ग्रसित भएको पाइन्छ। मूल नेतृत्वमा ‘म नै पार्टी हुँ’ भन्ने सामन्तवादी चिन्तनले जरा गाडेको देखिन्छ। अधिकांश कार्यकर्ताहरूमा मूल नेतृत्वको चाकरीगरी अवसर मात्र प्राप्त गर्ने लालच बढिरहेको पाइन्छ।
नेतृत्वमा आलोचना सुन्नै नसक्ने प्रवृत्ति, कार्यकर्तामा आलोचनात्मक चेत हराउँदै गएको अवस्था छ। कम्युनिष्ट पार्टीका कमिटी प्रणालीको विषय दस्तावेजमा मात्र सीमित बन्न पुगेको छ। यो परिस्थितिको गाम्भिर्यतालाई आत्मसात गर्दै समयमा नै आँफूलाई सही दिशाबाट अघि बढाउने कुरामा तत्परता देखाउन नसक्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलन साथै देश र जनताको भविष्य अन्धकारपूर्ण हुने कुरामा अब कुनै शंका बाँकी रहेन।
गर्व गर्न लायक विगत
विगततर्फ फर्केर हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन विशेष गर्व गर्न लायक देखिन्छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपालका कम्युनिष्टहरूले उच्च त्याग र बलिदानको कीर्तिमान नै कायम गरेका छन्। राणाशासन, राजतन्त्र र पञ्चायती निरङ्कुशताका विरुद्ध होस् वा राष्ट्रियताका पक्षमा, नेपालका कम्युनिष्टहरू युद्ध मोर्चाको अग्रपङ्क्तिमा रहेर लडेको गौरवपूर्ण इतिहास साक्षी छ।
हामीले इमानदार भएर के कुरा स्वीकार्नु पर्छ भने देशको व्यवस्था परिवर्तनमा नेपालको कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेताहरू (जो सबैजसो हाल दिवङ्गत भइसक्नु भएको छ) साथै दोस्रो, तेस्रो पुस्ताका नेताहरू (जो हाल विभिन्न कम्युनिष्ट पार्टीहरूको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ) को महत्त्वपूर्ण र निर्णायक भूमिका रहेको थियो।
व्यवस्था परिवर्तन गर्नेले अवस्था परिवर्तन गरेन
दुर्भाग्यको कुरा, व्यवस्था परिवर्तनमा अब्बल सावित हाम्रो नेतृत्व देश र जनताको अवस्था परिवर्तनमा खरो उत्रिन सकेन। यो कहीँ कतै गोलचक्करमा फस्न पुग्यो। अहिलेको समयको माग र आवश्यकता अनुरूप यसले आँफूलाई रूपान्तरित गर्न सकिरहेको छैन। किन यस्तो भयो ? यो आजको जिउँदो सवाल बनेको छ। कुनै पनि राजनीतिक दलको उद्देश्य सत्ता प्राप्त गर्नु नै हो। सत्ता प्राप्तिपछि के कसरी अगाडि बढ्ने स्पष्ट मार्गको पहिचान वा देश र जनताको हितमा अधिकभन्दा अधिक काम गर्ने विषयले पहिलो प्राथमिकतामा पाउनु पर्दछ। विडम्बना, नेपालका कम्युनिष्ट पार्टीहरूको ध्यान सत्ताप्राप्तिमा मात्र केन्द्रित रहेको देखिन्छ।
सत्ता मात्र साधन: साध्य हैन
नेपालका कम्युनिष्टहरूमा सत्तालाई मात्र साधन नमानेर यसलाई नै साध्यको रुपमा बुझ्ने गम्भीर वैचारिक विचलन देखिने गरेको छ। समाजवादी आन्दोलन जनताले चलाउने हैन। कम्युनिस्ट पार्टीले नै चलाउने हो। जनताले त सहयोग गर्ने हो। उपलब्धि देखाइदिने हो। नेतृत्व त पार्टीकै हुन पर्दछ। लोकतान्त्रिक व्यवस्थाको स्थापना पछि सदाजसो कुनै न कुनै नाममा वा रुपमा नेपालका कम्युनिष्टहरू सत्ताको केन्द्र भागमा जोडिएकै छन्।
दुःखको कुरा, कम्युनिष्टहरूले सत्ताको हालीमुहाली चलाउँदा पनि जनताका पक्षमा नीति तथा कार्यक्रमहरू बन्न सकिरहेका छैनन्। राज्यको तर्फबाट जनतालाई अनुभूत हुने गरी काम हुन सकिरहेको पाइँदैन। समयकै माग र चाहना अनुरूप, फेरिएको परिस्थिति अनि भूमिका अनुसार आफ्ना नीति, कार्यक्रम तय गर्न सकिरहेका छैनन्। जसका कारण बिस्तारै नेपालका कम्युनिष्ट पार्टी र जनता बीचको दुरी बढ्दै जाने अवस्था सिर्जना हुँदैछ।
सुशासन जनताको मुख्य चाहना
सुशासन नेपाली जनताको मुख्य चाहना हो। नेपालका जनताले कुशासन विरुद्ध संघर्ष गरेर यो व्यवस्था ल्याएका हुन्। समाजका हरेक क्षेत्रमा जरा गाड्दै गरेको भ्रष्टाचारी प्रवृत्ति, राज्य संयन्त्रका स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त छ। कर्मचारीको मनोमानी तन्त्रले जनतामा आक्रोशको मात्रा बढ्दै भएको अवस्था छ। सरकारी कार्यालयहरूबाट सेवा प्रवाहमा हुने ढिलासुस्तीले जनता आजित छन्। महंगी तथा कालो बजारीका कारण जनता उठ्नै नसक्ने गरी थिचिएका छन्।
राज्य संयन्त्र, जनप्रतिनिधि अनि राजनीतिक र सामाजिक अगुवाहरूका अपारदर्शी काम साथै जीवनशैलीबाट जनतामा भित्र भित्रै विद्रोहको भावना पैदा हुँदैछ। यता आम जनताको जीवन कष्टपूर्ण भन्दा कष्टपूर्ण बन्दैछ भने उता बिचौलिया, काला बजारी, भ्रष्ट, कमिसनखोर, डन प्रवृत्ति अनि दलाल पूँजीपतीहरूका लागि यहीँ स्वर्गीय आनन्दको अवस्था छ।
खरो उत्रनु आवश्यक
विषयको यही गम्भीरतालाई आत्मसात् गर्दै नेपालका कम्युनिष्टहरूले सुशासनलाई आफ्नो नीति,कार्यक्रमको शीर्ष स्थानमा राख्दै व्यवहारमा खरो उत्रनु आवश्यक छ। माथि उल्लेखित गलत प्रवृत्ति अनि पात्रहरूका विरुद्ध निर्ममतापूर्वक अभियान सञ्चालन गर्ने अनि सच्चा देशभक्त, लोकतान्त्रिक शक्तिहरूसँग पनि सहकार्य गर्दै अघि बढ्न सकेमा जनताको विश्वास जित्दै सुन्दर भविष्य निर्माणको हाम्रो मार्गमा कसैले छेकबार गर्न सक्ने कुरै हुँदैन।
कम्युनिस्टप्रति जनताको आशा
हिजोका दिनमा हामीले निरङ्कुशताका विरुद्ध लोकतन्त्र अनि अन्याय, अत्याचार, शोषण र विभेदका विरुद्ध न्याय साथै समानताका पक्षमा आवाज बुलन्द गरेका थियौँ। त्यो समयको माग थियो। जसका कारण कम्युनिष्ट पार्टी बहुसङ्ख्यक नेपाली जनताको आशा र भरोसाको केन्द्र थियो।
अब परिस्थिति फेरिएसँगै समयको आवश्यकता र जनताको चाहनामा पनि परिवर्तन आएको छ। माथि उल्लेख गरिएको सुशासन जत्तिकै जनताको लागि अर्को महत्वको विषय हो, बेरोजगारी समस्याको समाधान। शैक्षिक हिसाबले अग्रपङ्क्तिमा रहेको ‘बौद्धिक’ युवा शक्ति अवसरको खोजीमा युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा पलायनको लहर नै चलेको छ भने देश भित्रै रोजगारीको अवसर उपलब्ध नहुँदा हाम्रो श्रमयोग्य बाँकी युवा शक्ति विदेशमा रगत, पसिना बगाउन विवश छ।
खाद्यान्नमा परनिर्भरता
श्रम शक्तिको अभावमा हाम्रा उब्जाउ भूमि बन्जर बन्दैछन्। आफ्ना गैरी खेत बाँझै राखेर हामी बर्सेनि अरबौँको खाद्यान्न आयात गरिरहेछौँ। हो, यहाँ यिनै तीन वटा बाँझो जमिन, बेरोजगारी र खाद्यान्न आयातको समस्याको एकीकृत समाधानको नीतिबाट अघि बढ्दा हामी एक तहको अनुकूल परिस्थिति निर्माण गर्न सक्छौँ।
उत्पादन वृद्धि, उत्पादित वस्तुको बजारीकरणका साथ रोजगारीको सिर्जना अब हाम्रो प्रमुख एजेन्डा बन्न सक्नुपर्छ। राज्यले यी विषयहरूलाई उच्च प्राथमिकतामा राखेर योजना निर्माण गर्नुका साथै बजेटको ठूलो अंश यही क्षेत्रका लागि विनियोजित गर्नु आवश्यक छ। हाम्रो जस्तो देशमा अहिलेका लागि ठूला ठूला आयोजनाहरू प्राथमिकताका विषय बनाउने गल्ती गर्नु हुँदैन।
उत्पादन वृद्धि र रोजगारी सिर्जना
अहिलेको अवस्थामा तीन, चार अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भन्दा उत्पादन वृद्धिका साथ रोजगारी सिर्जनाको विषय हाम्रा लागि कैयौँ गुना फलदायी हुनेछ। हामीले उत्पादन वृद्धिको कुरा गरिरहँदा कृषि, पशुपन्छीको मात्र विषय बुझ्नु हुँदैन। हाम्रा अमूल्य प्राकृतिक सम्पत्ति जलश्रोत, बनजंगल, खनिज अनि पर्यटन लगायत हरेक विषयको समुचित उपयोगको नीति लिनु अनिवार्य हुन्छ।
बजेट निर्माणमा बिलासिताका सामानको आयातलाई निरुत्साहित साथै साधारण खर्चका लागि कमभन्दा कम रकम विनियोजनको नीति लिइनुपर्छ। शिक्षा, स्वास्थ्य जस्ता विषय राज्यको दायित्व भित्र राखी जनताका लागि सहज अनि सर्वसुलभ बनाइनु पर्दछ। भौतिक विकासको कुरा गरिरहँदा प्राकृतिक वातावरण सन्तुलनको विषयमा पनि हाम्रो ध्यान जानु आवश्यक छ।
नेपालको भविष्यप्रति दागा धर्दै
नेपाल अनि यहाँका बासिन्दाको अब कुनै भविष्य छैन भन्ने डरलाग्दो भाष्य निर्माण गर्न खोजिँदैछ। राष्ट्र निर्माणका आधार स्तम्भ यो देशका नागरिकहरूलाई राज्यप्रतिको जिम्मेवारी बोधबाट विमुख बनाइँदैछ। सम्पन्न मुलुकमा स्थायी बसोबासलाई प्रतिष्ठाको विषय मानिँदैछ। किशोर अनि युवाहरूमा मैले आफ्नो लागि मात्र सोच्ने हो। देश केही होइन भन्ने गजबको मनोविज्ञानको विकास गरिँदैछ।
अधिकार र अवसरका लागि युवा
राज्य अनि समाजका अगुवाहरू युवाहरूलाई आफ्नै देशमा हक, अधिकार र अवसर प्राप्तिका लागि क्रियाशील बनुन् होइन, परदेश तर्फको बाटो रोजुन् भन्ने वातावरण तयार पारिरहेछन्। विकृति र विसङ्गतिका बाहकहरू आफ्ना विरुद्ध आवाज नउठोस् भन्ने मनसायका साथ निराशाको खेती गरिरहेछन्, ता कि राष्ट्र निर्माणका आधार स्तम्भ युवा शक्तिले पलायनको बाटो रोजोस्।
यो प्रवृत्तिका विरुद्ध अब हामीले म यही देशमा बस्छु,यहाँका विकृति र विसङ्गतिका विरुद्ध आवाज बुलन्द गर्दै मातृभूमिको सेवामा जीवनभर लागिरहने छु भन्ने मानसिकताको विकास गर्नु र गराउनु आवश्यक छ। विगतका बलिदानी संघर्षहरूबाट हामीले राजनीतिक रुपमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौँ। तर अहिले देखिएका कतिपय बेथितिहरूलाई देखाएर लोकतान्त्रिक गणतन्त्रका साथ हामीले प्राप्त गरेका अन्य उपलब्धिहरूलाई अवमूल्यन गर्ने अझ तिनका विरुद्ध यो वा त्यो बहानामा विभिन्न कोणहरूबाट प्रहारहरू भइरहेछन्।
हाम्रो प्रमुख कार्यभार
राजनीतिक परिवर्तनका साथ जनताको पक्षमा सामाजिक, आर्थिक क्षेत्रको रूपान्तरणमा हाम्रो ध्यान पुग्न सकेको छैन। खुला हृदयले यसमा हामी आत्मालोचित हुनैपर्छ। यसको अर्थ हामी कदापि पछाडि फर्कन सक्दैनौं। हाल देखिएका विकृति र विसङ्गतिका विरुद्ध दरो संघर्षका साथ प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अग्रगामी सामाजिक, आर्थिक रूपान्तरणको दिशामा अघि बढ्नु पनि हाम्रो एक प्रमुख कार्यभार बन्न पुगेको छ।
हामीले हाम्रा नीतिहरू निर्माण गरिरहँदा बिर्सनै नहुने कुरा, हामी भूगोल अनि जनसङ्ख्याका हिसाबले विशाल दुई छिमेकीका बीचमा छौँ। यो अवस्थालाई हामीले अवसरका रुपमा उपयोग गर्न सक्नुपर्दछ। विश्वका सबै मुलुक अझ दुवै छिमेकीसँग हार्दिक अनि समदूरीको सम्बन्ध हाम्रो परराष्ट्र नीतिको केन्द्रमा हुनु नितान्त आवश्यक छ।
आर्थिक कूटनीतिका माध्यमबाट दुवै छिमेकमा हाम्रा उत्पादनहरू सहज प्रवेशको परिस्थिति निर्माणमा ध्यान दिनु पर्दछ। यसो हुँदा हामीलाई जति धेरै उत्पादनमा पनि बजारको समस्या रहँदैन। हामीले अरू कुनै चमत्कारका कुरै नगरी मूलतः यी अनि समय र परिस्थितिअनुसार सिर्जना हुने नयाँ विषयहरूलाई सम्बोधन गर्दै अघि बढ्न सक्दा मात्र पनि नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्ज्वल हुनेछ।
(लेखक: नेकपा (एकीकृत समाजवादी केन्द्रीय लेखा आयोगका उपाध्यक्ष हुनुहन्छ।)