शोक प्रस्ताव पारित

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो।

बैठकले स्व नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ। आजको बैठकमा स्व नेम्वाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो। नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य रहेका थिए।

उनी २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष रहेका थिए।

यसैगरी, २०५६ सालमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए। संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्