काठमाडौंको तीनकुनेमा एकै परिवारका ३ सहित चार जनाको हत्या

hattiya 1
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। काठमाडौं महानगरपालिका- ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीनजना एकै परिवारका। हत्या भएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको हो।

काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको छ। अन्दाजी ५५-५६ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ। उनीहरू दोलखाका स्थायी बासिन्दा हुन्।त्यस्तै मोरङको बेलबारीका अन्दाजी १९-२० वर्षीय नवीन राईको पनि हत्या भएको छ। मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ।

अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ। उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ। अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको एसएसपी मैनालीले जानकारी दिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्