काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) अमेरिका जाँदैछन्। आज साँझ ६ बजे प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।
उनले असोज ४ गते (२१ सेप्टेम्बर) महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज ३ (१९ सेप्टेम्बर)मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यहाँ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भ्रमणमा प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, उनकी छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
उनी अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन्। चीन भ्रमण असोज ५ गतेबाट सुरु हुनेछ। भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुनेछन्।