युवालाई देशभित्रै उत्पादनमा जोड्ने आधार सूचना प्रविधि नै हो : मन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताएकी छन्।

राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रमा उनले लाखौँ युवालाई देशभित्रै उत्पादन तथा सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन्।

‘एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रताका साथ अघि बढ्नेछौँ भने अर्कोतिर देशभित्र लाखौँ युवाहरू उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं,’ उनले भनिन्, ‘युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु।’

सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले यो क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्नका लागि साइबर सुरक्षा नीति पारित भएको बताइन्। ‘यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ। अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ,’ उनले भनिन्।

अहिले नेपालमा बौद्धिक व्यक्ति पलायन ठूलो समस्याका रूपमा देखिन थालेको उल्लेख गर्दै उनले नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चितता गर्ने क्षेत्रका रूपमा सूचना प्रविधि हुने पनि दाबी गरिन्। ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गर्ने तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उनको भनाइ छ।

यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको पनि मन्त्री शर्माले जानकारी दिइन्। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा ‘डिजिटलाइजेसन’लाई प्रभावकारी बनाउन सबै सरोकारवाला उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उनले स्पष्ट गरिन्।

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री शर्माले सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइएको बताइन्। सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्त्वपूर्ण आधार बन्दै गएको सन्दर्भमा यो क्षेत्रमा युवालाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवर्तनमा प्रोत्साहित गर्न यस वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको उनले जानकारी दिइन्।

‘सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि प्रतिस्पर्धी क्षमता विकास, व्यावसायिकता वृद्धि, उच्चगतिको भरपर्दो इन्टरनेट सेवा, सूचना प्रविधि पूर्वाधार, आवश्यक नीति र कानुन, सरोकारवालाबीचको समन्वय र सहकार्यमा जोड दिएको छ,’ उनले भनिन्, ‘यो वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायको सहयोगमा सूचना प्रविधिको क्षेत्रमा छोटो प्रकृतिका व्यावसायिक तालिम दिने तयारी थालेको छ, यसले उद्यमशीलता र नवप्रवर्तनको बाटो खोल्ने अपेक्षा मन्त्रालयको रहेको छ।’