चिकित्सक संघद्वारा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

chikitsak_sang
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन्। हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो।

संघले शनिबार एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ।

आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहने पनि संघले जनाएको हो।

विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ। भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए।

थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानूनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो। तर, दोषीहरूलाई पक्राउ गरी कानूनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउन खोजेको पनि चिकित्सक संघले आरोप लगाएको छ।

कुटपिटको घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धानका लागि तीन दिनको म्याद भने लिईसकेको छ। पक्राउ पर्नेमा मकवानपुर पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन्। उनीहरु मृतक राजेश प्रधानका परिवारका सदस्यहरु हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्