काठमाडौं। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ। भाद्र शुक्ल द्वितियादेखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ। माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ।
दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ। भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ।
दर खाएसँगै औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीको पूजासँग समापन हुने गर्दछ। तृतीयाका दिन हरितालिका ब्रत, चौँथीका दिन गणेशको पूजा हुने गर्दछ। तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ।