पश्चिम नवलपरासी। सुनवलमा रहेको महाकवि देवकोटा माविले अटो वर्कशप तथा सर्भिस सेन्टर खोलेको छ। हरितालिका तिज तथा विश्वकर्मा पूजाको अवसर पारेर महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय सुनवलले ‘अटो वर्कशप तथा सर्भिसिङ्ग सेन्टर’को आइतबार शुभारम्भ गरेको विद्यालयले जनाएको छ।
सुनवल-१ सोमनाथमा रहेको प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूले पढ्दै, सीप सिक्दै र कमाउँदै गरुन् भन्ने उद्देश्यले सोमनाथमा सो ग्यारेज खोलिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान हरि अर्यालले बताए। ग्यारेजबाट आम्दानी भएको आधा रकम त्यहाँ काम गर्ने विद्यार्थीले र केही प्रतिशत रकम ग्यारेज व्यवस्थापन तथा शिक्षालयका लागि खर्च गरिने विद्यालयले जनाएको छ।
सैद्धान्तिक ज्ञानको अलावा परिश्रम पनि जरुरी छ भन्ने भावना जगाउनका लागि र विद्यार्थीलाई पढाइसँगै रोजगारीको व्यवस्था पनि हुने भएकाले ‘पढ्दै-कमाउँदै’ कार्यक्रम अन्तर्गत वर्कशपको शुभारम्भ गरिएको विद्यालयका प्रअ खेमलाल जोशी शर्माले बताए।
बाईकर कार मर्मत तथा पार्टपुर्जाका लागि सुनवलबाट बाहिर जानै नपर्ने गरी केही महिनामै लेथ मेसिन समेत सञ्चालनमा ल्याइने बताइएको छ। निकट भविष्यमै ‘पढ्दै-कमाउँदै’का अन्य विषयका कार्यक्रमहरू समेत सार्वजनिक गर्ने विद्यालयको तयारी छ।