काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कु-चक्रलाई सु-चक्रमा बद्लन निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। कोर्षको ५० औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ।’
अर्थतन्त्रमा समस्या देखिएका समस्या बिस्तारै कम हुँदै गएको मन्त्री डा. महतको भनाइ थियो। उनले भने, ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन्।’
‘पर्यटक आगमन बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ। अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन,’ उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठिक समय होइन, लगानी नगरौं। बैंकहरुले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।’
उनले अर्थतन्त्रमा रिर्सोस भएकोले अब बिस्तारै त्यो चलायमान हुने हुँदा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। ‘अब अर्थतन्त्रमा रिर्सोस छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ,’ मन्त्री डा. महतले भने, ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ। राजश्वमा परेको दबाब अन्त्य हुन्छ। राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ।’
४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ। करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए। उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूर दराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ।’
उनले अगाडि थपे, ‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सूचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ। जब हामी लगानी गछौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ। त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्त्वपूर्ण हुन्छ। साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ।’
मन्त्री डा. महतले धेरै छरिएर रहेका व्यवसायमार्फत धेरै रोजगारी सिर्जना हुने भएकोले साना साना कर्जा प्रवाहमा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘साना साना कर्जा प्रवाह हुन्छ, साना साना उद्योग स्थापना हुन्छ। त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ। साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सिर्जना गर्छ। यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन्।’
डिजिटल एकाउन्टिङले ट्रानजेक्सनको कष्ट घटाएको उल्लेख गर्दै उनले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताए। प्रविधिको प्रयोग बढाउने विषयमा कर्जा सुरक्षा कोषले अग्रणी भूमिका खेल्नुपर्ने उनको भनाई छ।
‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ। डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौं। आइटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कष्ट घटाएको छ,’ उनले भने, ‘यसलाई हामीले ग्रहण गर्न जरुरी छ। कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने छ। यसले उच्च व्यावसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ। यसको सेवा विस्तार हुनुपर्यो।’