काठमाडौं। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले शिक्षा विधेयकको बिरोधको नाममा सडकमा भएको अवरोध हटाउन सरकारले पहल गर्नुपर्ने बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताए। उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा गइरहेको बताए।
सांसद सुवालले स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्नेकुरा संघीयता बिरोधी भएको बताए। उनले विधेयकमा शिक्षकले राजनीति गर्न नपाउने उल्लेख गरिएको भन्दै अनियमितता हुनु भएन, देश र जनताको सेवा गर्नुपर्छ भन्ने पनि राजनीति भएकाले शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन भएको बताए।