विदेशबाट काठ ल्याउन रोक्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

Shalikram_Jamkattel
लोकपाटी न्यूज
3 Shares

नारायणगढ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताएका छन्। नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनको रजत महोत्सव समापन समारोहमा शनिबार उनले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौंका काठ विदेशबाट ल्याइएको बताए।

उनले भने, ‘यहाँ हामी काठ काट्न नदिने अनि विदेशबाट काठ ल्याउने ! नेपालीलाई चाहिने काठ नेपालमै छ। विदेशबाट काठ ल्याउन हामीले रोक्नुपर्छ।’ उनले बागमती प्रदेश सरकारले ऐनमा संशोधन गरेर उपभोक्तालाई आवश्यक काठ दिने नीति बनाउन लागेको बताए। उनले थपे, ‘हामी जथाभावी काठ काट्न दिदैँनौँ तर काठ दिन रोक्न पाइँदैन।’

उनले वन जंगल जोगाउनु सबैको कर्तव्य भएको भन्दै वनबाट फाइदा पनि लिनपर्ने बताए। हाम्रोजस्तो विविधताले भरिएको मुलुक अन्त कतै नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले वनबाट झरेको पातबाट प्रांगारिक मल बनाउन लागेको जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्रांगारिक मल कारखाना स्थापना गर्नेतर्फ सरकार लागेको उनको भनाइ थियो। संघीय लोकतात्रिक गणतन्त्र नेपाललाई समृद्घ नेपाल बनाउने जिम्मेवारीका साथ सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै उनले नयाँ तरिकाले कृषि कर्म गर्नुपर्ने बताए। उनले भने, ‘किसानका नाममा धेरै प्रतिशत अनुदान दुरुपयोग भएको छ। अब व्यक्तिलाई अनुदान नदिई समुदायमा आधारित कृषि उत्पादनको मोडेलमा बागमती प्रदेश सरकार जान लागेको छ।’

फरक प्रसंगमा मन्त्री जम्कट्टेलले नर्सिङ पढ्नका लागि बागमती प्रदेश सरकारले क्षमता भएका कलेजमा पढ्नका लागि खुला गर्न लागेको बताए। उनले भने, ‘अब नर्स पढ्न बागमती प्रदेशमा बन्देज हुँदैन।’ उनले अन्तर्राष्ट्रियस्तरमा नेपाली नर्स तथा चिकित्सकको माग बढिरहेको अवस्थामा यहाँ पढ्नै नपाउन गरी रोक्न नहुने बताए। कतिमा पढाउने भन्ने कुराको पनि सूचना आइसकेको उनले जानकारी गराए। -रासस