- नारायण गिरी
हामी के हौं ? को हौं ? हामीले कुन्-कुन् परिस्थितिको सामना गर्दै यहाँसम्म आइपुग्यौं ? कसरी मानव समाज र हाम्रो वरिपरिका प्राणी, वातावरण, रूख बोट-बिरुवा, आदि यो अवस्थामा आइपुग्यो भन्ने बारेको एउटा नयाँ सोच शैली र पद्धतिको विश्व प्रसिद्ध पुस्तक बारे यो आलेख तयार गरिएको छ र हामीले चर्चा गर्न लागेको पुस्तको नाम भने ‘स्यापियन्स’ हो।
इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. ‘युवाल नोआ हरारी’द्वारा लेखिएको पुस्तक ‘स्यापियन्स’ (मानव जातिको संक्षिप्त इतिहास)हो। विश्व बजारमा गरमागरम चर्चा कमाउन सफल यो पुस्तक सन् २०११ मा पहिलो पटक प्रकाशन भएको हो। मानव इतिहासलाई नयाँ सोचका साथ स्पष्ट पार्ने प्रयास गरेको यो पुस्तक अन्तर्राष्ट्रिय स्तरमा नै अति धेरै रुचाइएको पाइन्छ। पुस्तक ४० भन्दा बढी भाषाहरूमा अनुवाद भई सकेको छ। यसलाई ग्रन्थभन्दा पनि प्रामाणिक दस्ताबेजको रूपमा समेत लिने गरेको पाइन्छ। पुस्तकमा लेखिएका तथ्यहरू अस्वीकार गर्न सकिने अवस्था देखिँदैन।
यो पुस्तकले मानवको व्यक्तित्वलाई कसरी वातावरणले प्रभावित गरेको हुन्छ भन्ने कुरा स्पष्ट पार्न खोजेको पाइन्छ। ‘स्यापियन्स’मा हरारीले मानव शास्त्र, अर्थशास्त्र, जीवविज्ञान, जीवाश्म विज्ञान, भू-विज्ञान, ऐतिहासिक तथ्यहरू जस्ता विषयहरू वृहत् ज्ञानको आधारमा लेखेको देखिन्छ। यो पुस्तकमा सरल रूपले उठान गरिएका निम्न विषयवस्तु धेरै महत्वका छन्।
अस्तित्वको लडाइ: करिब एक लाख वर्ष पहिले पृथ्वीमा मानव जातिका कम्तीमा ६ प्रजातिहरू थिए। आज होमो स्यापिन्यस मध्येका हामी मात्र अस्तित्वमा छौं। प्रबलताको लडाइँमा आखिर हाम्रो प्रजातिले कसरी विजय प्राप्त गर्यो ? हाम्रो खानाको खोजीमा पूर्वजहरू शहर र साम्राज्यको स्थापनाको लागि किन एकताबद्ध भए ? कसरी हामी भगवान्, राष्ट्र, मानवअधिकार, आदि कुरामा विश्वास गर्न लाग्यौं ? कसरी हामी पुस्तक, धन सम्पत्ति, कानून, आदि कुरामा भरोसा गर्न लाग्यौं ? र, कसरी हामी नोकरशाही, टाइमटेबल र उपभोक्तावादका दास भयौं ? अब आउने हजारौं वर्षमा हाम्रो संसार कस्तो हुनेछ ? आदि- इत्यादि।
मानिसको उत्पत्ति र विस्तार: पुस्तकमा सबभन्दा पहिले मानिस कहाँ उत्पन्न भएका थिए र तिनीहरू पृथ्वीमा कसरी फैलिए ? मानव बन्ने कथाको साथै मानिस धर्तीमा कसरी आयो ? मानव इतिहास र मानव जीवन पहिले कस्तो थियो ? मानव जाति आधुनिक युगसम्म कसरी आइपुग्यो ? समयसँगै मानव जीवनमा के-के परिवर्तनहरू आउनेछन् ? जस्ता यावत विषय वस्तु स्पष्ट पारिएको छ। यो एक रोचक पुस्तक हो। लेखकले पुस्तकमा मानव इतिहासलाई पुरानो समयदेखि आजसम्मका सम्पूर्ण मानव यात्राका महत्त्वपूर्ण र रोचक तथ्यहरूलाई विकासवादी दृष्टिले दर्साउने प्रयास गरेका छन्।
लेखकले पुस्तकमा मानव जातिका अनेकौं अवधारणालाई अलग-अलग तथ्य र मिथकद्वारा स्पष्ट पारेका छन्। मानव इतिहासको बारेमा पहिले पनि धेरै पुस्तक लेखिएका छन्। हरारीले यसमा भने मानव उत्पत्तिको वर्तमान र भविष्यलाई एक सूत्रमा गाँस्ने कार्य गरेका छन्।
पुस्तकको पहिलो भाग : पृथ्वीमा स्यापियन्सको उत्पत्तिदेखि लिएर त्यो सम्पूर्ण पृथ्वीमा फैलिएको कुरा उल्लेख गरिएको छ। यहाँ मानिसको विकासपछि उसको संज्ञानात्मक चेतनाको विकासलाई मुख्य मानिएको छ। उनले पृथ्वीमा जीवनको उत्पत्ति हुनु भौतिक विज्ञानको महाविष्फोटको परिणाम ठान्दछन्। उनी के पनि मान्दछन् भने मानिस र अन्य प्राणीहरूमा आधारभूत रूपले कुनै भिन्नता छैन। पृथ्वीका सम्पूर्ण प्राणीहरू अणुहरूका जटिल संरचनाहरूकै परिणाम हुन्। स्यापियन्स अन्य प्राणीहरूभन्दा भिन्न छन्। यस्तो हुनुको कारण यसमा संज्ञानात्मक क्रान्ति घटित हुनुले हो भन्दछन्।
संज्ञानात्मक क्रान्ति कृषि क्रान्तिको उपज थियो। जसले मानिसमा सोच्ने र व्यवस्थित हुने चेतना पैदा गरिदियो र विकासलाई तीव्र गति दियो। हामी यसलाई वैज्ञानिक क्रान्तिको इतिहास रुपमा बुझ्दछौं। हरारीका अनुसार मानिसको पहिलो विकास लगभग २५ लाख वर्ष पहिले पूर्वी अफ्रिकामा बाँदरको एक प्रारम्भिक वंश अस्ट्रेलोपिथेकसबाट भएको हो। लगभग २० लाख वर्ष पहिले यिनीहरूमध्ये केही आदिम पुरुष र स्त्रीहरू उत्तरी अफ्रिका, युरोप र एशियाका फराकिला इलाकाहरूमा बस्नको लागि अलग्गै क्षेत्रको यात्रामा निस्किए। फरक-फरक क्षेत्रमा बसेको कारणले गर्दा मानिसको जनसंख्या फरक-फरक क्षेत्रमा विभिन्न अवस्थाहरूमा विकसित भयो। यसको परिणामस्वरूप अनेकौं पृथक् प्रजातिहरूको रूप देखा परे।
युरोप र पश्चिम एशियाका मानिसहरू होमो नियन्डरथलेन्सिस (नियन्डर घाँटीका मानिस) को रूपमा विकसित भए, जसलाई खासगरी ‘नियन्डथल्स’ भनिन्छ। स्यापियन्सको तुलनामा ठूलो र मोटो तथा हृष्टपुष्ट नियन्डरथल्स हिम युगको चिसो जलवायुमा राम्रोसँग अनुकूलित थिए। एशियाका अधिकांश क्षेत्रका मानव प्रजातिहरूलाई होमो इरेक्टस (सीधा उभिने मानिस) भनियो। यिनीहरू बिस्तारै संसारका अन्य भागहरूमा पनि छरिँदै गए। इन्डोनेशियाको जावा द्वीपको फ्लोरेन्समा आदिम मानिस बाउन्ने हुने प्रक्रियाबाट गुज्रिए। यी मानिसहरू युरोप र एशियामा विकसित भइरहेको बेलामा पूर्वी अफ्रिकामा विकासको प्रक्रिया थामिएको थिएन।
होमो एर्गास्टर, होमो इरेक्टस, होमो सोलोऐन्सिस, होमो फ्लोरेसिएन्सिस, होमो रूडोल्फेसिस तथा होमो स्यापियन्स रेखीय रूपमा विकसित भए। तिनीहरूकै सबभन्दा विकसित स्वरूप स्यापिन्यस हो भन्ने धारणालाई हरारीले अस्वीकार गरेका छन्। उनको दाबी छ- यो एक रेखीय प्रतिरूपले कुनै एक विशेष समयमा केवल एकै प्रकारका मानिस पृथ्वीमा रहन्थे भन्ने गलत धारणालाई जन्म दिन्छ।
वास्तविकता के हो भने लगभग २० लाख वर्ष पहिलेदेखि लिएर लगभग १० हजार वर्ष पहिलेसम्म संसारमा एकै समयमा कैयौं प्रजातिका मानिसहरू बसोबास गर्ने गर्दथे। अब प्रश्न उठ्छ, ती प्रजातिहरू के भए त ? यसको लागि केही विद्वानहरू संस्करण (hybridization) सिद्धान्त र केहीले प्रतिस्थापन सिद्धान्तलाई आधार बनाउँदछन्। तर हरारी यी दुवै सिद्धान्तको मिश्रित कारणको अनुमान लगाउँदछन्। उनका अनुसार केही प्रजातिहरूमध्ये संक्रमण र प्रतिस्थापनको मिश्रित परिणामपछि बचेकाहरूलाई नै स्यापियन्स भनिन्छ।
होमो स्यापिन्यसको विकासमा हरारी दुई मौलिक विशेषता विकसित भएको बताउँछन्। त्यसको आधार वंशाणुगत उत्परिवर्तन (genetic mutation) हो। यसमा पहिलो कुराकानी (भाषा) र अर्को कल्पना थियो। हरारीका अनुसार स्यापियन्सको सोच्ने क्षमता र बुद्धि बढी भएको कारणले उसलाई यो पृथ्वीको विजेता बनायो तर उसले यसको ठूलो मूल्य पनि चुकाउनु पर्यो।
मानिससँग अन्य प्राणीहरूको भन्दा ठूलो मस्तिष्क हुन्छ। आधुनिक स्यापियन्सको मस्तिष्क औसतमा १२००-१४०० घन सेन्टिमिटर (शरीरको तौलको २-३ प्रतिशत) हुन्छ। त्यसलाई पोषण उपलब्ध गराउन अप्ठ्यारो हुन्छ। किनभने आराम गरेको बेलामा शरीरको २५ प्रतिशत ऊर्जाको उपयोग हुन्छ। यसको तुलनामा अन्य बाँदरहरूको मस्तिष्कको केवल ८ प्रतिशत ऊर्जा मात्र खर्च हुन्छ।
मानव विकासमा चुकाएका मूल्य
आदिम मानवले ठूलो मस्तिष्कको मूल्य खानाको खोजीमा धेरै समय बिताउने र मांसपेशी क्षीण बनाएर चुकायो। यसको अतिरिक्त मानिसले उभिएर हिँड्नमा पनि धेरै समस्या झेल्यो। सीधा उभिने स्थितिसँगै संगति कायम गर्ने कुरा चुनौती थियो। यसले गर्दा मानव प्रजातिमा पिठ्यूँको दुखाइ र गर्दनको कठोरताको समस्या पैदा भयो। स्त्रीहरूले अतिरिक्त मूल्य चुकाउनुपर्यो। सीधा भएर हिँड्नको लागि छोटो नितम्ब आवश्यक हुन्थ्यो, जसले प्रसव नलीलाई संकूचित गर्दथ्यो। यसले गर्दा प्रसवकालीन मृत्युको ठूलो समस्या पैदा भयो। साथै मानिसहरूको जन्म समयभन्दा पहिले अर्धविकसित अवस्थामा हुन लाग्यो।
त्यसकारण मानव प्रजाति पृथ्वीको सम्भवतः एक मात्र प्रजाति हो, जसले अत्यन्त कमजोर र अविकसित अवस्थामा जन्म लिन्छ। एउटा बाछो जन्मिएको केही समयपछि नै दौडन लाग्छ, बिरालोको बच्चा केही हप्तामा नै आमालाई छोडेर स्वयं खानाको खोजीमा निस्किन्छन्। तर, मानिसको बच्चाले कैयौं वर्षसम्म भरण पोषण, विकास, संरक्षण र शिक्षाको लागि आमा-बाबु वा ठूला मान्छेहरूमा निर्भर रहनुपर्दछ।
सभ्यताको अर्कोचरण आगो
समयक्रमसँगै स्यापिन्स समूहमा बस्न लागे। यिनीहरूले आगोलाई घरेलु बनाएर सभ्यतालाई एक नयाँ मोड दिए। उनीहरू यसबाट प्रकाश र ताप प्राप्त गर्न सक्दथे र साथै यसबाट हिंस्रक पशुहरूलाई डर देखाउने काम पनि हुन्थ्यो। आगोको सर्वाधिक महत्त्वपूर्ण काम भने पकाउनु थियो। चामल, मकै, गहुँ, आलु, कन्दमूल, मासु, आदि जस्ता खाद्य पदार्थलाई मानिसले प्राकृतिक रूपमा पचाउन सकेका थिएनन्।
आगोले पकाएपछि तिनीहरू पचाउन योग्य भए, जसको कारणले गर्दा ती मुख्य खाद्य पदार्थ बने। यसपछि उनीहरूले पत्थर र जनावरका हाडहरूका विभिन्न हतियारहरू निर्माण गर्न थाले। ठण्डीबाट बच्न जनावरको छालाका कपडा र बरफमा हिँड्नको लागि जुत्ता पनि बनाउन लागे।
विश्वास र मूल्यमान्यता
हरारीका अनुसार संज्ञानात्मक क्रान्तिपछि एक-आपसमा कुराकानी (भाषा)ले होमो स्यापियन्सका धेरै ठूला र स्थायी समूह तयार गर्नमा सहयता पुर्यायो। भाषाको विकासले मानिसलाई बढी जटिल सामाजिक प्रणाली बनाउन तथा ज्ञान एवं विचारहरूको आदान-प्रदान गर्न सिकायो। भाषा सिकेपछि मानिसले मिथक र कथाहरू बनायो। जसले सांस्कृतिक विश्वास र मूल्यमान्यताहरूलाई आकार दिनमा मद्दत पुर्यायो।
सामाजिक अनुसन्धानबाट के कुरा स्पष्ट भएको छ भने कुराकानी समूहको स्वाभाविक आकार लगभग १५० व्यक्तिहरूको हुन्छ। होमो स्यापियन्सद्वारा १५० को निर्णायक सीमालाई नाघ्नको लागि सबभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने कारक तत्त्व साझा मिथक नै थियो।
एउटा साझा मिथकमा विश्वास गर्दै ठूलो संख्याले अपरिचितलाई सफलतापूर्वक परस्पर सहयोग गर्न सक्दछन्। कुनै पनि ठूलो परिमाणको मानवीय सहकारिताको जरो ती साझा मिथकहरूमा फैलिएको हुन्छ, जसको अस्तित्व केवल समाजका सामूहिक कल्पनामा हुन्छ, चाहे त्यो आधुनिक राज्य होस, मध्ययुगीन चर्च होस्, कुनै प्राचीन शहर वा कुनै आदिम कबिला नै किन नहोस्। दुई क्याथोलिक जो आपसमा कहिल्यै मिल्दैनन्, तर उनीहरू सँगसँगै धर्मयुद्धको लागि जान सक्दछन् वा कुनै अस्पताल निर्माणको लागि धन सम्पत्ति जम्मा गर्न सक्दछन्। किनकि उनीहरू दुवै एकै ईश्वर र त्यससँग सम्बन्धित साझा मिथकमाथि भरोसा गर्दछन्।
राज्यको आधार साझा राष्ट्रिय मिथकहरूमा फैलिएको छ। न्यायिक व्यवस्थाहरूको आधार विधिपरक मिथकहरूमा फैलिएको हुन्छ। जबकि यिनीहरूमध्ये कुनै चीजको अस्तित्व ती कथाहरूभन्दा बाहिर हुँदैन, जुन मानिसहरूले रचेका हुन्छन्। मानिसहरूका साझा कल्पना बाहिर विश्वमा कुनै देवता, कुनै राष्ट्र, कुनै पैसा, कुनै मानव अधिकार, कुनै कानून र कुनै न्याय हुँदैन। संज्ञानात्मक क्रान्तिका यी दुवै स्वरूपहरूले होमो स्यापियन्सलाई शिकारका नयाँ प्रविधिहरूलाई खोज्ने, संगठन बनाउने, व्यापार गर्ने तथा अन्वेषण गर्ने, आदि काममा दक्ष बनाइदियो।
पुस्तकको दोस्रो भाग : उनी कृषि क्रान्तिको बारेमा एक मौलिक अपधारणा पेश गर्दछन्। उनका अनुसार मानिसहरूले कृषिलाई घरेलु बनाएको होइन, बरु कृषिले मानिसहरूलाई घरेलु बनाएको हो। उनका अनुसार कृषि विकास नभएको बेलासम्म सबै मानव जातिहरू जंगली फलफूल र शिकारमा आश्रित थिए। यसैबाट उनीहरूलाई पर्याप्त मात्रामा विभिन्न प्रकारका पोषण प्राप्त हुन्थ्यो। उनीहरूले खानाको लागि कुनै चिन्ता गर्नुपर्ने थिएन। जहाँ बढी फलफूल र जनावर हुन्थे, त्यहीँ मानिस बसोबास गर्थे। फलफूल र जनावर सकिँदै गएपछि उनीहरू अर्को ठाउँ जान्थे।
कृषि क्रान्ति र नियन्त्रित जीवन
कृषि क्रान्तिसँगै मानव जीवन नियन्त्रित भयो। बिउ रोप्नेदेखि लिएर मैदानको व्यवस्था गर्नमा उनीहरूको पूरा समय खर्च हुन लागेको थियो। यसको साथै उनीहरूले अब एक ठाउँमा बस्नुपर्दथ्यो र सीमित प्रकारका मात्र खाना पाइन्थे, यिनीहरू उनीहरू पोषणको लागि पर्याप्त थिएनन्। त्यसैगरी यस्ता खाना उनीहरूका दाँतका लागि पनि हानिकारक थिए। प्राचीन अस्थिपंजरहरूको अध्ययनबाट के संकेत प्राप्त हुन्छ भने कृषिको संसारमा कदमले बाथ रोग, हर्नियाँ, आदि अनेकौं रोगहरूलाई जन्म दियो।
स्थायी गाउँमा बस्ने र भोजन आपूर्तिमा वृद्धि हुनुको साथै जनसंख्या पनि बढ्न लाग्यो। कृषिले पशुहरूमाथि पनि धेरै अत्याचार भयो। जनावरहरूलाई घरपालुवा बनाइयो तथा आवश्यकता अनुसार कृत्रिम रूपले तिनीहरूको संख्या पनि वृद्धि गरियो। सुरुमा कुकुर पालियो। त्यसपछि गाई, भैँसी, बाख्रा, आदि पालियो। यसरी लगभग १० हजार वर्ष पहिले सुरु भएको कृषि क्रान्तिले मानिसहरूलाई एक ठाउँमा बस्ने र अतिरिक्त खाद्यान्नको उत्पादन गर्न सिकायो। यसबाट मानव जनसंख्यामा वृद्धि भयो र अझ बढी जटिल समाजको विकास भयो।
सामाजिक व्यवस्था
हरारी फेरि सामाजिक व्यवस्थाको विकास पछाडि साझा मिथकहरूकै चर्चा गर्दछन्। यसको लागि उनी हम्मूराबी संहिता, गरिर्जामा रहेको पिरामिड, अमेरिकाकाको स्वाधीनताको घोषणापत्र, आदिको उल्लेख गर्दछन्। यसको अतिरिक्त समय अनुसार अन्य मिथकहरू बनाउँदै समाज एवं राज्यको स्थापनालाई व्याख्या गर्दछन्। यस्ता व्यवस्थाहरू र राज्यहरूले समाजमा विभेद पैदा गरिदिए। र, यी भेदभाव पुनः मिथक बनेर एउटा व्यवस्थाको रूपमा ढल्दछन्।
मिथकमा आधारित यी व्यवस्थाले मानिसहरूलाई कृत्रिम समूहमा बाँडिदियो। माथिल्लो वर्गका मानिसहरू सुविधा र सत्ताको सुख भोग गर्दथे, त्यहीँ तल्लो वर्गका मानिसहरू शोषण, दमन र पक्षपातको शिकार हुन्थे। उदाहरणको लागि हुम्बूराबीको संहिताले उच्चस्तरका मानिस, सामान्य मानिस र दासहरूको एउटा श्रेणी तयार गरेको थियो। यसको विपरीत अमेरिकाको घोषणापत्रद्वारा बनाइएको काल्पनिक व्यवस्थामा समानताका दाबीपछि पनि एक श्रेणीबद्ध क्रम तयार गरियो।
माथिल्लो र तल्लो वर्ग
माथिल्लो र तल्लो वर्गको क्रममा एकातिर गोरा थिए, जो स्वतन्त्रताको आनन्द लिन्थे र अर्कोतिर ती अश्वेत वा अमेरिकी इन्डियन थिए, जसलाई तल्लो स्तरका मानिस ठानिन्थ्यो। पूर्वीय सभ्यता अन्तर्गतका एक हिन्दुहरूले जातीय श्रेष्ठताको मिथक रचे, जसानुसार ब्राह्मणको रचना ईश्वरको मुखबाट, क्षेत्रीहरूको रचना उसको बाहुबाट, वैश्यहरूको रचना उसका जाँघबाट र शूद्रहरूको रचना खुट्टाबाट भएको हो। यसैको सहायतामा विभेद चलिरह्यो।
यसरी नै कृषि क्रान्तिपछि लैंगिक भेदभाव सुरु भयो। यसको पहिलो कारण बाहुबल वा श्रमक्षमता थियो। बाहुबललाई महत्त्व दिएपछि दुई वटा मूल समस्याहरू पैदा भए। पहिलो, पुरुष स्त्रीहरूभन्दा बलिया हुन्छन् भन्ने समस्या देखा पर्यो। यो कुरा औसत रूपमा केही निश्चित प्रकारका सामर्थ्यमा मात्र सही हुन्छ। जस्तो कि यस्ता धेरै स्त्रीहरू पुरुषभन्दा छिटो दौडन सक्दछन् र धेरै भारी पनि बोक्न सक्छन्।
योभन्दा पनि अगाडि सोचनीय कुरा के देखिन्छ भने यदि स्त्रीहरू शारीरिक रूपले कमजोर थिए भने उनीहरूलाई किन धेरै कम उद्यमको माग गर्ने काम (पूरोहित्याईं, कानूनी काम, राजनीति, आदि) बाट टाढा राखियो, जबकि उनीहरूलाई केवल कृषि, शिल्प, उद्योग, आदिका कठोर श्रममा लगाएर राखियो।
एउटा अर्को सिद्धान्त के छ भने पुरुष वर्चस्व शक्तिको होइन, बरु आक्रामकताको परिणाम हो। यसकारण स्त्रीहरूले पुरुषको बराबर गर्न सक्छन्, तर जब कुनै विकल्प बाँकी रहँदैन, तब पुरुष कठोर हिंसामा लिप्त हुनको लागि बढी उत्साहित हुन्छन्। यही कारणले गर्दा सम्पूर्ण युद्धको इतिहासमा पुरुषको परमाधिकार रहेको छ।
पुस्तकको तेस्रो भाग : मानवको एकीकरणु यिनै अवधारणाहरूमा केन्द्रित रहेको छ। हरारीका अनुसार पैसा सार्वभौमिक परिवर्तनीयता र सार्वभौमिक भरोसा गरी दुई सार्वभौमिक सिद्धान्तहरूमा आधारित छ। पैसाको माध्यमबाट कुनै वस्तु वा मिथकलाई अर्को वस्तु वा मिथकसँग बदल्न सकिन्छ। यसको साथै पैसाको माध्यमबाट कुनै पनि दुई जना मानिस कुनै पनि मामिलामा सहयोगको लागि सार्वभौमिक भरोसा गर्न सक्दछन्। पैसाका यी दुई मूल सिद्धान्तहरूले एक-अर्कोबाट अपरिचित लाखौं मानिसहरूलाई व्यापार र उद्योगहरूमा प्रभावकारी ढंगले सहयोग गर्नमा सक्षम बनायो, तर यससँगै केही समस्याहरू पनि जोडिएका थिए। यसले स्थानीय परम्परा, आत्मीय नाता र मानवीय मूल्यमान्यताहरूलाई विनाश गरी त्यसको ठाउँमा आपूर्ति र मागका भावशून्य नियमहरूलाई स्थापित गरिदियो।
साम्राज्यको स्थापना
हरारी साम्राज्यको स्थापनाको बारेमा यसरी उल्लेख गर्दछन्- सामान्यतः एक सानो समूहद्वारा ठूलो साम्राज्यको स्थापना गरिन्छ र अधिनस्थ जनताले त्यो संस्कृतिलाई अपनाउँदछन्। साम्राज्यवादद्वारा संस्कृतिको विस्तार सीमान्त पार पनि भयो, जसको कारणले गर्दा विभिन्न संस्कृतिहरू घुलमिल भए।
हरारीका अनुसार मानव प्रजातिको एकीकरण गर्ने पैसा र साम्राज्यको साथसाथै धर्म तेस्रो ठूलो शक्ति हो। धर्मले के बताउँदछ भने हाम्रा नियमकानून र विधि विधान मानवीय सोचको कारणले नभएर एक परम, सर्वोच्च सत्ताद्वारा दिइएका आदेशहरू हुन्। यसमा कम्तीमा केही आधारभूत नियमहरूलाई चुनौतीभन्दा पर राख्न र यसरी समाजको स्थिरता सुनिश्चित गर्नमा सहायता प्राप्त हुन्छ।
धर्म र विश्वास प्रणालीहरूले मानव इतिहासमा एक महत्त्वपूर्ण भूमिका निभाए, जसले व्यक्ति र समाजको लागि नयाँ नैतिक मान्यता र मार्गदर्शक सिद्धान्त प्रदान गर्दछन्। हरारीका अनुसार परम्परागत धर्मको पतनको कारण राष्ट्रवाद र उपभोक्तावाद जस्ता नयाँ विश्वास प्रणालीहरूको उदय भएको हो।
पुस्तकको चौथो वा अन्तिममा भाग : हरारी वैज्ञानिक क्रान्तिको कुरा गर्दछन्। वैज्ञानिक क्रान्ति १६औँ शताब्दीमा सुरु भएको थियो। यसको विशेषता वैज्ञानिक पद्धतिको विकास, अनुसन्धान र प्रयोग थियो। यसबाट मानव ज्ञान र बुद्धिमा महत्त्वपूर्ण प्रगति भयो। हरारीका अनुसार वैज्ञानिक क्रान्तिको माध्यमबाट मानिसले आफ्नो क्षमतामा वृद्धि गर्न सक्दछन् भन्ने कुराको भरोसा दिलाएको छ।
वैज्ञानिक क्रान्ति र अन्तरिक्ष
विज्ञानले आधुनिक जहाजसँग कैयौं गुना क्षमता हुन्छ भन्ने सावित गर्ने प्रयास गरेको छ। जसबाट युद्ध, व्यापार, जलमार्गीय खोज, आदि धेरै सहज र सरल क्षमतायुक्त तरीकाले गर्न सकिन्छ। विज्ञानले आधुनिक कम्प्युटर मध्य युगका प्रत्येक पुस्तकालयका सम्पूर्ण पाण्डुलिपिहरू र चिठ्ठीहरूलाई स्टोर गर्न सक्दछ र यसपछि पनि पर्याप्त ठाउँ बच्दछ भन्ने कुरा सम्भव बनायो। वैज्ञानिक क्रान्तिले कैयौं परम्परावादी मान्यताहरूलाई चुनौती दियो र भौतिक विज्ञान, चिकित्सा विज्ञान, जीवविज्ञान, खगोल विज्ञान, रसायन विज्ञान, अन्तरिक्ष विज्ञान, आदि जस्ता क्षेत्रहरूमा भएका नयाँ खोजहरू र ज्ञानलाई जन्म दियो।
औद्योगिकीकरण र विश्वव्यापीकरणको उदयमा पनि यसको महत्त्वपूर्ण प्रभाव पर्न गयो। वैज्ञानिक क्रान्तिले मानिसलाई अन्तरिक्षमा पुर्यायो। विज्ञानले रोगहरूको कारण खोजी गरी मानिसहरूको जीवन सम्भावनालाई अझ बढायो। यसबाट राज्य, सरकार र धनी मानिसहरूले औद्योगिक क्षेत्रमा लगानी गरे। परिणामस्वरूप संसाधनहरूले शोधको उद्देश्यले धन उपलब्ध गराए, शोधको क्षमता बढ्यो, यो बढेको क्षमताले पुनः संसाधन उपलब्ध गरायो। यसरी वैज्ञानिक क्रान्ति पुँजीपतिहरू र साम्राज्यवादीहरूको हातमा नियन्त्रित भयो।
हरारीका अनुसार वैज्ञानिक क्रान्ति ज्ञानको होइन, बरु अज्ञानको क्रान्ति भएको छ। वैज्ञानिक क्रान्तिको सुरुवात नै कुन आधारमा भएको छ। मानिस आफ्ना सबभन्दा महत्त्वपूर्ण प्रश्नहरूको उत्तर जान्दैनन्। वैज्ञानिकहरूको सामान्य मान्यता, कुनै पनि सिद्धान्त शतप्रतिशत सही छैन। यसले सिद्ध गर्छ- सत्य ज्ञानको एक कमजोर मापदण्ड हो।
आतंकवादी समस्या
सन् १५०० पछि विज्ञान प्रविधिसँग जोडिन्छ, त्यसपछि यसले अथाह क्षमता र सम्भावनाहरू लिएर आउँछ। र, यी क्षमताहरूसँग नकारात्मक सम्भावनाहरूलाई पनि लिएर आउँछ। यति मात्र होइन, यसले आक्रामक हतियारहरूको निर्माणको साथसाथै प्रतिरक्षामा पनि महत्त्वपूर्ण भूमिका निभाउँदछ। आज धेरै मानिसहरू आतंकवादी समस्याको समाधान राजनीतिक तरीकाले होइन, बरु प्राविधिक तरीकाले निकाल्न सकिन्छ भन्ने मान्यतामा छन्। यस्ता विभिन्न प्रविधिहरू अनन्त रूपमा नकारात्मक र सकारात्मक क्षमताहरूले लैस छन्। योसँगै हरारीले यी प्रविधिको विकासलाई परिचित गराउँदछन्।
विज्ञानको मुख्य चिन्ता प्रविधिको विकासभन्दा पनि यसको प्रयोग गर्ने शक्तिहरूलाई लिएर हुन्छ। किनभने जुन शक्तिले यसको सञ्चालन गरिरहेका छन्, यसको बहानामा उनीहरू आफ्नो लक्ष्यलाई पनि साँधिरहेका छन्। अन्ततः यसले पुँजीवादी व्यवस्थालाई नै बलियो बनाउनेछ। वैज्ञानिक र प्राविधिक प्रगतिले परम्परागत मान्यताहरू र आख्यानलाई चुनौती दिएको छ, जसबाट कथा कहानी र सांस्कृतिक अभिव्यक्तिको नयाँ रूप सामुन्ने आएको छ। उदाहरणको लागि सामाजिक सञ्जाल र डिजिटल सञ्चारको उदयले कहानीको लागि नयाँ प्लेटफर्म तयार गरेको छ र वैकल्पिक आख्यान र दृष्टिकोणलाई बढवा दिएको छ।
लेखकका अनुसार अझै मानिसले धेरै कुरा गर्न बाँकी छ। धेरै समस्याहरू देखा परिरहेका छन्। जनावरहरू र पर्यावरणमाथि मानवीय प्रभुत्वको महत्त्वपूर्ण नैतिक प्रभाव परेको छ। यही प्रभावको कारणले इकोसिस्टमको विनाश भएको छ र कैयौं प्रजातिहरू विलुप्त भएका छन्। वातावरण परिवर्तन भइरहेको छ।
ओजोनतह क्षय भइरहेको छ र ग्लोबल वार्मिङ बढिरहेको छ। मानिसले यसमाथि काम गर्नुपर्नेछ। मानिसले प्रकृतिको रक्षा गर्ने र पर्यावरणमा मानिसद्वारा गरिएको हस्तक्षेपकारी कार्यहरूको प्रभावमाथि पनि विचार गर्ने जिम्मेवारी लिनुपर्दछ। त्यसैगरी संसारमा मानवताको सामु विनाशको खतरा पैदा गर्ने असमानता र विभेदलाई पनि रोक्नुपर्नेछ। नत्र भने अन्य जाति जस्तै होमो स्यापियन्स पनि खत्तम हुनेछन्।
यदि मानिसले नयाँ प्रविधिको विकास गर्न जारी राख्दछ र वैज्ञानिक ज्ञानका सीमाहरूलाई अगाडि बढाउँदछ भने यी प्रगतिका सम्भावित प्रभावहरूको बारेमा नैतिक विचार गरिनुपर्दछ। उदाहरणको लागि आनुवंशिक विज्ञान र कृत्रिम बौद्धिकतामा प्रगतिले जीवनको मूलभूत निर्माण खण्डसँगै खेल्ने सम्भावित परिणामहरूको बारेमा प्रश्न उठाउँदछ।
खासमा भन्ने हो भने प्राविधिक प्रगति राम्रो हो। तर यसका केही सम्भावित खतरा पनि छन्। यसको कारणले मानिसको प्रभुत्व समाप्त हुन्छ र प्रविधिको प्रभुत्वकारी शक्ति बन्नेछ। त्यसैले मानिसले नयाँ प्रविधिमा सावधानीपूर्वक विचार गर्नुपर्दछ। तिनीहरूको उपयोग नैतिक र जिम्मेवारीपूर्ण तरीकाले गर्ने कुराको सुनिश्चिततासहित काम गर्न आवश्यक छ।
हरारीका अनुसार कृत्रिम बौद्धिकता र जैव-प्रविधि जस्ता नयाँ प्रविधिहरूको उदयले एउटा यस्तो भविष्यतिर लैजान सक्दछ, जसमा मानिस प्रभुत्वकारी शक्ति रहँदैन। उनका अनुसार मानिसले यी प्रविधिका सम्भावित परिणामहरूमाथि विचार गर्ने र तिनीहरूको उपयोग मानवताको हितको लागि होस् भन्ने कुरा सुनिश्चित गर्नको लागि काम गर्न आवश्यक छ। विश्वव्यापीकरणको उदय र डिजिटल सञ्चारको प्रसारसहित प्राविधिक प्रगतिको मानव समाजमा महत्त्वपूर्ण प्रभाव परेको छ। हरारीका अनुसार यी परिवर्तनहरूले मानव समाजको लागि नयाँ चुनौतीहरू पैदा गरेका छन्। उदाहरण स्वरूप असमानतामा वृद्धि र परम्परागत सांस्कृतिक मूल्यमान्यताहरूमा ह्रास, आदिलाई लिन सकिन्छ।
हरारीका अनुसार मानिसले प्राविधिक प्रगतिको सम्भावित परिणामको उपयोग मानवीय हितमा गर्नको लागि नैतिक र राजनीतिक शासनका नयाँ रूपहरूको आवश्यकता हुन सक्दछ। साथै मानिस र प्रविधिको बीचमा सम्बन्धको बारेमा सोच्नको लागि अझै धेरै समग्र दृष्टिकोणको आवश्यकता हुन सक्दछ।
यसरी हरारीले स्यापियन्स (मानव जातिको संक्षिप्त इतिहास) मा मानव सभ्यताको एक व्यापक इतिहास प्रस्तुत गरेका छन्। उनले यसमा हजारौं वर्षको समयमा मानव समाजलाई आकार दिएका प्रमुख विकास र परिवर्तनहरूको बारेमा बताएका छन्। उनले यसमा मानव जीवनलाई आमूल परिवर्तन गर्ने संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति र वैज्ञानिक क्रान्तिको बारेमा स्पष्ट रूपमा बताएका छन्। उनले यसमा कहानी र साझा काल्पनिक वास्तविकताले मानव संस्कृति र पहिचानमा भूमिका खेलेको कुरालाई पनि महत्त्वपूर्ण ढंगले प्रस्तुत गरेका छन्। यो पुस्तकले मानव इतिहासको विश्लेषण र भविष्यको लागि यसको परिणामको बारेमा धेरै संक्षिप्त ढंगले उल्लेख गरेको छ।
हरारीको यो पुस्तकलाई इतिहासको प्रक्रियालाई संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति र वैज्ञानिक क्रान्ति गरी तीन महत्त्वपूर्ण क्रान्तिहरूले आकार दिएका छन्। आजभन्दा ५०० वर्ष पहिले सुरु भएको वैज्ञानिक क्रान्तिले इतिहासलाई खत्तम गर्न पनि सक्दछ र कुनै पूर्ण रूपले भिन्न चीजको सुरुवात गर्न सक्दछ। यस प्रकार यो पुस्तकलाई फराकिलो चिन्तनमा आधारित पुस्तकको रूपमा लिइन्छ।
प्राचीन समयदेखि लिएर आधुनिक युगसम्म मानव जातिको विकासलाई यसले रोचक ढंगले व्याख्या विश्लेषण गरेको छ। मानव जातिको सुरुवातदेखि भविष्यसम्मका हरेक महत्त्वपूर्ण तथ्यहरू संकलन गर्दै लेखकले यो पुस्तक एक दस्ताबेजको रूपमा विकास गरेका छन्। लेखकले मानिसका स्वभावका पक्षलाई पनि वैज्ञानिक ढंगले प्रस्तुत गरेका छन्। सेपियन्सले संसारमा मानिसको स्थान र आउने पुस्ताप्रति मानिसको जिम्मेवारी बारेमा गहिराइपूर्वक सोच्नको लागि चुनौती दिएको छ। यसले मानव इतिहासलाई आकार प्रदान गर्न र जटिल शक्तिलाई बुझ्न एक शक्तिशाली ढाँचा प्रदान गरेको छ।
-हरारीको पुस्तक : स्यापियन्स ‘मानव जातिको संक्षीप्त इतिहास’को समिक्षक नारायण गिरीद्वारा गरिएको विवेचनाको अंश