राजनीतिक असमझदारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे

Debraj_Ghimire
लोकपाटी न्यूज
3 Shares

झापा। संघीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन्।

झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताए।

‘राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उहाँहरूलाई एक ठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु,’ उनले भने, ‘यसमा एक खालको सफलता मिलेको छ।’ सरकारले ल्याएका ऐन-विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिरहेको सभामुख घिमिरेको भनाइ छ।

सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको बताउँदै उनले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गरे। सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत् छलफल गर्नुपर्नेमा जोड दिए।

‘संसद्मा विधेयक आउने बित्तिकै त्यसको व्यापक विरोध भइरहेको अवस्था छ,’ उनले भने, ‘विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ।’ झापा क्षेत्र नं २ का संसद्समेत रहेका उनले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताए। यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनको छ।