चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : गृहमन्त्री

NarayanKaji_Shrestha
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरे।

‘चिकित्सकको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ,’ उनले भने। चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन्। त्यसमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढ्छ,’ उनले भने, ‘त्यसमा कुनै प्रकारको द्विविधा नराख्न र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ।’

छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताए। उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताए।