टी-२० आई : मंगोलियामाथि नेपालको विश्व किर्तीमानसहितको जित

nepali_cricket_team
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियामाथि विश्व किर्तीमानसहितको जित निकालेको छ। चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो।

२० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो। नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए।

नेपालले बनाएको ३ सय १४ रन टि–ट्वेन्टी अन्तराष्ट्रियकै विश्व किर्तीमान हो। टि–ट्वेन्टीमा अहिलेसम्म कुनैपनि देशले ३ सय रन पार गर्न सकेका छैनन्। यसैगरि कुशलले बनाएको ३४ बलको शतक पनि टि–ट्वेन्टीतर्फको विश्व किर्तीमान हो।

९ बलमा अर्धशतक प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले पनि सर्वाधिक कम बलमा अर्धशतक बनाउने किर्तीमान राखेका छन्। यसअघि उक्त किर्तीमान भारतका युवराज सिंहको नाममा १० बलको थियो। दिपेन्द्रले लगातार ६ छक्का प्रहार गरेका थिए।

जवाफमा ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा अलआउट हुनुपूर्व ४१ रन मात्रै जोड्न सक्यो। मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश कोहोरा र सन्दिप लामिछानेले २–२ विकेट लिए।

समूहको दोस्रो खेलमा नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्सको सामना गर्नेछ। क्रिकेटतर्फ भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै वाटरफाइनलमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्