सडकमा व्यवसाय गरे प्रणालीमा आबद्ध हुन्छ : प्रमुख बालेन

Balen_Shah
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले फुटपाथमा व्यापार व्यवसाय गर्नु गैरकानुनी रहेको बताएका छन्। विगत नौ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ‘ई’लाई सम्बोधन गर्दै उनले फुटपाथ, बाटोमा व्यापार गर्नु कानुन विपरीत रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस विषयले भावुक बनाए पनि यसरी व्यापार गर्नु गैरकानुनी छ।’ प्रमुख शाहले प्रष्ट पार्दै भनेका छन्, ‘बिहान र बेलुकी दुई/दुई घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन सकिँदैन, एक हजार व्यक्तिको लागि ५० लाख जनाको हिँड्ने अधिकार हनन गर्न सकिँदैन।’ सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईंको माग पूरा गर्ने अधिकार कामपासँग छैन।’

प्रमुख शाहले कामपाको जग्गा र नेपाल सरकारको जग्गाको स्वामित्व फरक फरक हुन्छ दिने र नदिने अधिकार फरक फरक निकायमा हुने उल्लेख गरेका छन्। कामपाको केन्द्रीय कार्यालय र वडा कार्यालय पनि भाडामा रहेको उनले अवगत गराए।

‘मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि। गरिबको सधैँको लागि बोल्दिने काठमाडौं महानगर छ। घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ। त्यो बुँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मूल गर्ने एउटा चरणको रुपमा थियो,’ उनले सामाजिक सञ्जालमार्फत अभियन्ता ‘ई’लाई जवाफ दिए।

भारत र चीनबाट ल्याइएका सामान फुटपाथमा बेच्न दिएर गरिबी निवारण नहुने उल्लेख गर्दै प्रमुख शाहले सडकमा व्यवसाय गर्न दिएर प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकालाई धराशायी बनाउने बताएका छन्। उनले भनेका छन्, ‘नियम बनाउने ठाउँमा भएका राजनीतिक दलले समयमा नै सही नियम बनाएका छैनन्। हाम्रो आग्रह छ, हजारौं काठमाडौंवासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योभन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ।’

फुटपाथ व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग गर्न विगत नौ दिनदेखि उभिरहेका अभियन्ता ‘ई’ लाई विभिन्न राजनीतिक दलले पनि समर्थन जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्