नेताले जनतालाई सडकमा आउँ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भन्नुपर्छ : लामिछाने

Rabi_Lamichhane
लोकपाटी न्यूज
11 Shares

काभ्रेपलाञ्चोक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स-साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलामा उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर पनि गरे।

‘हामी जनताका सानाऔसाना मुद्दामा ध्यान दिन्छौं, उहाँहरूका काममा साथ दिन चाहान्छौं, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौं, सडक तताउँदैनौं,’ पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने। उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउँ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए।

सभापति लामिछानेले भने, ‘अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस्।’ उनले फरक प्रसंगमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए। ‘हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौं, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दुःखी बन्नुपर्दैन, उहाँहरूले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ।’

रास्वपाले भ्रष्टाचारलगायत आपराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकै पटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए। ‘हामी आम नागरिकलाई सास्ती हुने गरी जनतालाई सडकमा उतार्दैनौं, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ,’ उनले भने।

कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए। पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढंगले अध्ययन गरी समाधान गर्दै जाने बताए। सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललगायतले नगर भेलालाई शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्