एनआरएनए अध्यक्षका उम्मेदवार श्रेष्ठद्वारा पाँच प्रतिबद्धता सार्वजनिक

लोकपाटी न्यूज
1 Shares
  • विवश काफ्ले

 काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नाराका साथ श्रेष्ठले आफ्ना पाँच प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ, एनआरएनएको संकल्प: नेपालको समुन्नति, अबको कार्यभार: एनआरएनएको हक, हित र अधिकार, एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, मेरो प्राथमिकता: युवा, महिला तथा दोस्रो पुस्ता उनका प्रतिबद्धता छन्।

श्रेष्ठले गैरआवासीय नेपालीको समस्या समाधानको लागि निर्णायक पहल गर्ने प्रतिबद्धता गरेका छन्। उनले सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन ‘एक एनसीसी, एक परियोजना’लाई एनआरएनए फाउन्डेसन मार्फत एकीकृत परियोजनाको रुपमा अघि बढाउने बताएका छन्। नेपाल सरकारले हालै सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगारसम्बन्धी आइपीओमा सबै गैरआवासीय नेपालीहरूको पहुँच सुनिश्चित हुने गरी कार्यान्वयन गर्न आवश्यक कानुन संशोधनका लागि पहल गरिने उनले बताए।

गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औँ महाधिवेशन अक्टोबर १७ बाट सञ्चालन हुँदैछ। महाधिवेशन अक्टोबर २० सम्म सञ्चालन हुनेछ। यति बेला महाधिवेशनको तयारीका लागि उम्मेदवारको दौडधुप जारी छ। गैरआवासीय नेपालीहरूका कुरा सुन्न र सुझाव लिन अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ अहिले मध्यपूर्व र युरोपको यात्रामा छन्। यसअघि उनले कर्मभूमि जापानका विभिन्न सहरहरूमा नेपालीहरूसँग साक्षात्कार गरेका थिए। उनले साक्षात्कारको क्रममा प्राप्त सुझाव, सल्लाह र साथले आफूलाई गैरआवासीय नेपालीको नेतृत्व गर्न थप उर्जा र जिम्मेवारी बोध भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्