चोरी भएका मोटरसाइकल खोजतलास गरी धनीलाई जिम्मा

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका २१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। विभिन्न मितिमा हराएका सवारी साधन समयमा खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक रविन कार्की जानकारी दिए।

उनका अनुसार १४ वटा मोटरसाइकल र ७ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको हो। चालु आर्थिक वर्षमा १ सय ११ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। उक्त सवारी साधनहरू खोजतलासको क्रममा काठमाडौं उपत्यकाका धर्मस्थली, नेपालटार, बालाजु , नयाँ बसपार्क, सोह्रखुट्टे, सुकेधरा, बौद्ध, जम्बुडाँडा, सातदोबाटो ,अनामनगर, कालीमाटी, थापाथली, थानकोट, ठिमी लगायतका स्थानमा ट्राफिक प्रहरीले फेला पारेको थियो।

यस आर्थिक वर्षमै ७ वटा चोरीका मोटरसाइकल सहित ८ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको प्रहरीले जनाएको छ। सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था प्रहरीले मिलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्