चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न निर्देशन

education_Commite
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्बाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

‘चिकित्सकमाथि हुने यस्तो घटनाप्रति खेद प्रकट गर्दछौं,’ समितिको निर्णयमा भनिएको छ, ‘दोषीउपर कारबाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।’ समितिका सभापति जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षण भएको बताए।

बैठकले चिकित्सक एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्ताबाट गर्न सुझाव दिएको छ। समितिले चिकित्सकहरू पेसागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्न समितिले निर्देशन दिएको छ।

समिति बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे दुःख व्यक्त गरे। बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। सचिव भट्टराईले दुर्व्यवहारका घटना भएका अस्पतालमा सुरक्षाको व्यवस्था मिलाइएको र संलग्नलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्