काठमाडौं। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ।
केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार उनलाई अहिले काठमाडौं ल्याइँदै छ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको राठौरले बताए। उनले सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए। आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ। निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायांकनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ। अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।