- राजेन्द्र विक
बाजुरा। बाजुरालीहरुको स्थानीय मौलिक संस्कृति बोकेको पर्व अनन्ते मेला बाजुरामा शुक्ररबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्णिमाको दिनबाट सुरु गरिने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वकारुपमा लिने गरिएको छ।
जिल्लामा दसैंपछिको महत्त्वपूर्ण पर्वका रुपमा मानिने अनन्तले मेला ३ देखि ५ दिनसम्म खेल्ने गरिन्छ। यो वर्ष शुक्रबार साँझबाट सुरु गरिएको अनन्ते मेला १४ गतेसम्म भव्यताका साथ मनाइने भएको मार्तडी अनन्ते मेला व्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताए। महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरूले विजय हांसिल गरेको खुशीयालीमा पाण्डवका पक्षमामा रही न्यायका पक्षधरहरूले विजयी उत्सवका रुपमा अनन्ते पर्व मनाउने गरिएको जानकारहरू बताउने गर्छन्।
अनन्ते मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाइको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ। अन्यायको अन्त्य भन्ने शब्द अपभ्रस भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ। व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदाय बीच गीत मागलसँगै बिजुराका धुन र गाथाको माध्यमद्वारा मेला मनाउने गरिएको स्थानीय बुद्धिसिंह थापाले बताए।
बाजुरामा मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा अनन्ते पर्व मनाउने गरिन्छ। संस्कृतिको जगेर्ना आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको संकेतका रुपमा पनि अनन्ते पर्वलाई मनाउने गरिएको छ। अनन्ते पर्वका अवसरमा जिल्लाको बडिमालिका नगरपालिकाले भोलि सार्वजनिक बिदासमेत दिएको छ।