काठमाडौं। सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन्। ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अंग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अंग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन्। पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरि हुने सत्य स्थापना गरिएको छ।
त्यसभन्दा भिन्न अंग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरूको संग्रह हो। अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक पनि रहेका छन्।
‘बसन्त’का यसअघि तीन वटा कविता संग्रह प्रकाशन भई सकेका छन्। तीमध्ये अंग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा रहेका छन्।